डियर बेलघारी, आइ मिस यु!
बेलघारीमा थियो- स्कूल; बेलघारीमा थियो- मावल; बेलघारीमा थियो- पलाँसको बोट र बेलघारीमै थिए- बाबा र रामकुमारहरू पनि। अरु त अरु, बिलाउनेका गेडा टिपेर गोजी भर्न र अङ्गेरी खाएर जिभ्रो कालो पार्न पनि बेलघारीका पाखामै पुग्नु पर्ने।
तीनपाटनमा काब्रो बेलघारीमै थियो र बडहर पनि यहीँ मात्र। कदमेमा यी वनस्पति नपाइने। एउटै चदाहा खोलाको वारिपारि रहेका यी दुई पाखामा पाइने यसप्रकारको अनौठो पर्यावरणीय र वानस्पतिक भिन्नता कुनै दिन कुनै अध्येताको चासोमा पर्ला र वास्तविकता उधिन्ला।
आरुको बोट राजन मामाको बारीमा पनि थियो र कालीप्रसाद मामाको करेसामा पनि। हामी कालीप्रसाद मामाको बोटको आरु बढी चोर्थ्यौँ। राजन मामाको घरअगाडि थियो- आरुको बोट; घर भित्रबाहिर गर्दा परिवारका जो सुकैको नजर पर्थ्यो। कालीप्रसाद मामाको भने घरको करेसामा। घरका कसैको हत्तपत्त नजर नपर्ने। यसमा थप सुविधा के भने, कलिला आरु डगरबाट लम्किएर टिप्न हात पुग्ने। डगरबाट नभेट्ने अवस्थासम्ममा आरुमा किञ्चित गुलियोपन बढिसकेको हुन्थ्यो। अनि हामी करेसाबारीमै पस्थ्यौँ। पाक्ने अवस्थामा पुग्दा बोट रित्तो हुन्थ्यो। मामाहरूले कहिल्यै आफ्नो बोटको आरु चाख्न पाउनु भएन होला; आरुको बोट काट्नु पनि भएन।
अंङ्गेरी खान हामी हुल बाँधेर जान्थ्यौँ- पाखामा। गाउँ छाडेर बाटैबाटो पूर्व गएपछि ठेडी खोलाको छेउमै थियो- हाम्रो हजुरबाहरूको खेत। खेतमा मकै छरिएको छ भने पाखामा एउटा सानो टौवा हुन्थ्यो। हामी यो टौवामा चढ्थ्यौँ र हल्लाउँथ्यौं। केही क्षण हामी टौवामै अल्मलिन्थ्यौँ र उकालो लाग्थ्यौँ।
अब अंङ्गेरी खोज्नुपर्छ। पाकेको अंङ्गेरी पट्ट फुटेको हुन्छ। खाने त्यही फुटेको अङ्गेरीको भित्रको कालो भाग हो। अंङ्गेरी खाएर मात्र पुग्थेन; अरुको जत्ति जिभ्रो कालो भएको छैन भने अंङ्गेरी खाएकै मानिन्थेन। कसैले भनिदिन्थ्यो- ‘अंङ्गेरीले मात लाग्छ।’ र, हामी डराए जस्तै देखिन्थ्यौँ।
मावलमा हजुरआमा हुनुहुन्थ्यो र नाति सधैँ स्कुल टिफिनमा घरमा आओस् अनि दूध र भात खाएर जाओस् भनेर पर्खिनुहुन्थ्यो। नाति चै साथीहरूसँग चल्दाचल्दै/खेल्दाखेल्दै बिर्सिन्थ्यो- हजुरआमा प्रतिक्षामा हुनुहुन्छ भन्ने कुरा। अर्को दिन हजुरआमा स्कुलमै आउनुहुन्थ्यो; नातिलाई हात समातेर डोहोर्याएर घरमा पुर्याउनु हुन्थ्यो र थर्काउनु हुन्थ्यो- ‘तँ रिङ्नेलाई भोलिदेखि टिफिनको घन्टी लाग्नासाथ आइनस् भने सिस्नोपानी लगाउँछु।’
नाति अनियमित हुन्थ्यो; हजुरआमाले थर्काउन कहिल्यै छाड्नु भएन; सिस्नोपानी पनि कहिल्यै लगाउनु भएन। कोही नौलो मान्छेले चासो राखे हजुरआमा भन्नुहुन्थ्यो- ‘चिन्नु भएन? ऊ क्या, हाम्रो मैयाको छोरा !’ समझ पनि कस्तो हो- हजुरआमाको ‘मैयाँको छोरालाई’ सबैले चिनेकै हुनुपर्ने!
टिफिनमा काब्रो खान पनि मज्जा लाग्ने। टिफिन भयो कि, सबै पुग्थे- काब्राको फेदमा। काब्रो चराले भुँइमा झारेको हुन्थ्यो; उसो त झट्टी हानेर झारे पनि हुन्थ्यो। काब्रो जसको बारीको कान्लामा थियो; स्कुले जिन्नासँग हार माने झैँ देखिनु हुन्थ्यो : कत्ति गाली गर्नु, कसलाई मात्र गाली गर्नु! मन्द अमिलो हुने काब्रो।
नुनखोर्सानीसँग मोलमाल पार्दा यसको स्वाद केही उन्नत हुन्थ्यो। तर, नुनखोर्सानी कहाँ पाउनु? उसै पनि काब्रो सबै मीठो मान्थे, हारालुछ हुन्थ्यो; नमिठो भन्ने को? बडहरको बोट चै स्कुलबाट टाढा पर्ने। गाउँ सकिएपछि। गाउँको पूर्वपट्टि। बडहरका कलिला पहेला चिचिला भुँइमा झरेका हुन्थे; हामी जम्मा पार्थ्यौँ। यी चिचिला सिलोटमा लेखेका अक्षर मेट्न काम लाग्थ्यो।
बाँसको सानो हाँगालाई दुबैतिर प्वाल रहने गरी काटेर त्यसमा बिलाउनेका गेडा हालेर कमिला र झिंगाको कम्ती सिकार गरिएन! हामी गोजी भरिभरि बिलाउनेका गेडा हालेर सिकारमा निस्किन्थ्यौँ। हाम्रो गोलीलाई ध्युँकमिलाले धरि टेर्दैनथ्यो; छेपाराले त झन् टेर्ने कुरै भएन।
बेलघारी मलाई नमूना गाउँ लाग्थ्यो। यो सुव्यवस्थित बस्तीको रूपमा थियो। कान्लो परेको ठाउँमा पूर्वपश्चिमको बाटो। बाटाको दुबैतिर चट्ट मिलेका घरहरू। घरहरूमध्ये गाउँको पल्लोछेउमा पौडेलको एउटा घर। बीचतिर हायूको एउटा घर। बाँकी सबै घिमिरेका घरहरू। सबै घर पूर्व फर्केका। सबै घरहरूमा थप्राङ्ग। सबै घर दुई पाखे।
गाउँभन्दा तल थियो- गाईवस्तु ओहोरदोहोर गराउने डगर। गाउँभरिका गाईवस्तु एउटै समयमा फुकाइन्थे; एकै समय घर फर्काइन्थे। गाईवस्तु फुकाउने र बाँध्ने समयमा सबै घरमतानका तगाराहरू खोलिएका हुन्थे। हामी केटाकेटीलाई त गाईगोरुले आफ्नो घर चिनेर फाँफाँ फूँफूँ गर्दै भित्र पसेको दृश्य पनि रमाइलो लाग्ने।
डगरभन्दा तल थियो- सिस्नो घारी। घारी यति बाक्लो थियो; बाली जोगाउन बार बार्नै पर्दैनथ्यो। र, सबैभन्दा तल थियो- जरुवा। काब्राको बोट तलको बाँसभन्दा तल पर्थ्यो- जरुवा। फोहर नहोस् भनेर काठका पटाहाले छपक्क छोपेको जरुवालाई। बाहिरको पानी जरुवाभित्र जान नमिल्ने गरी पटाहाकै बेरा लगाएको। पँधेरालाई यसरी संरक्षण गरिएको हेर्न पनि बेलघारीमै आउनु पर्ने।
जरुवाको पानी विहान तातो हुने। दिन छिप्पिदै आएपछि त्यो तातोपन हराउने। दिउँसो चिसो पानी पिउन मन भए जरुवामा पुगे भयो। माड्साबसँग पर्मिसन लिएर हाम्रो ताँती सोझिन्थ्यो- जरुवातिर। अंजुलीमा उवाएर पिउने पानी। कहिले त अंजुलीमा पानीसँगै आउने टाटी माछाका ससाना भुरा। हामी अंजुलीमा माछालाई देखेर रोमाञ्चित हुन्थ्यौँ र फेरि पानीमै छाडी दिन्थ्यौं।
हाम्रो दृष्टिले ती भुरालाई परसम्म पछ्याएका हुन्थे। यही जरुवा थियो- गाउँभरिका महिलाहरूको जमघटको केन्द्र। बिहान झिसमिसेमै महिलाहरू गाग्री काखीमा बोकेर जरुवातिर झरेका हुन्थे। बिहान छिप्पिदै आएपछि भने जरुवामा महिलाको संख्या पातलिन्थ्यो। अब दतिउन लगाउँदै पुरुषहरू झर्थे- जरुवातिर। यहीँ हुन्थ्यो- नुहाउने र लुगा धुने काम। यही जरुवाको आधारमा बेलघारीले कहिल्यै खानेपानीको अभाव भोग्नु परेन।
तीनपाटनमा बेलघारीबाटै प्रारम्भ भयो होला- चिया खाने प्रचलन। अँगेनामा ओदानमाथि ठूलो कित्लीमा पकाइन्थ्यो- चिया र बाँडिन्थ्यो- स्टिलका गिलासमा। अँगेनाको डिलमा परालको पिरामाथि बसेर चियाको बखान हुन्थ्यो- ‘एक गिलास तातो चिया खाएर निस्किएपछि शीत लाग्दैन।’ अनि अर्काले थप्थ्यो- ‘भोक पनि नलाग्ने भन्या।’
गाउँदेखि दक्षिणतर्फ तोरी फुल्ने टार बारी र बारीको बीचमा थियो- पलाँसको एउटा बोट। केटाकेटीलाई खेल्न सजिलो होस् भनेर आफैँ तेर्सो परे झैँ लाग्ने पलाँसका हाँगाहरू। आफ्नो सिजनमा हुरुक्कै भएर राताम्मे फुल्थ्यो- पलाँस। हामी फूलको रस चुस्न पलाँसको रुख चड्थ्यौँ। फूल निख्रिएपछि हामी हाँगाहाँगामा डुम खेल्थ्यौँ।
डुम खेल्दा डुमले छोयो भने पनि- डुम; रुखबाट तल झर्यो र माटो छोयो भने पनि- डुम। यस्तो नियम हुन्थ्यो। यो त्यो उमेरको कुरा हो; जतिबेला दुनामा केही खरानी र खरानीमाथि कुखुराको केही भुत्ला राखेको दुनो साहिँली दिदीको पुरानो घरको कुनामा लुकाएको भरमा हामी दुनामाथि कुनै दिन कुखुराको अन्डा हुने आशा गर्दथ्यौँ।
बेलघारीबाट सबैभन्दा पहिले बेलघारे जिबाहरू बसाइँ जानुभयो; अनि चौधरी हजुरबाहरू। अनि राजन मामा र छेउघरे हजुरबाहरूले पनि बेलघारी छाड्नु भयो। साहिँला भिनाजुहरू बसाइँ हिडेपछि बेलघारीका धेरै घिमिरेहरूलाई बसाइँ हिड्ने चौचौ भयो। अनि जेठा हजुरबा र कान्छा हजुरबाको खलकले पनि बेलघारी छाड्नु भयो। हाम्रा आफ्नै हजुरबाले पनि छाडेपछि बेलघारी हाम्रा लागि बिरानो भयो।
त्यसपछि पनि म पटकपटक गएँ- बेलघारी। यो बेलघारीबाट मैले चिनेको बेलघारी बिस्तारै हराउँदै आयो।
मंसिर १, २०८१ शनिबार ०८:०१:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।