रास्वपा कार्यकर्ता समातेको भिडियो खिच्दा प्रहरीले पत्रकारको क्यामरा खोसे
काठमाडौँ : सहकारी ठगीमा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका रवि लामिछानेलाई रुपन्देहीको बयान सकाएर शुक्रवार पोखरा ल्याउनेक्रममा धक्काधक्की भयो।
रविको पक्राउको विरोधमा उनको दल राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताहरू विरोध प्रदर्शन गर्न उपस्थित भएका थिए। विरोध प्रदर्शनको भिडियो तथा तस्बिर खिच्न पत्रकारहरू पनि विरोध प्रदर्शनस्थल पुगेका थिए।
रविलाई प्रहरी कार्यालयभित्र प्रवेश गराए पनि रास्वपाका कार्यकर्ताहरू विरोध प्रदर्शन गर्न थालेपछि प्रहरीले उनीहरूलाई पक्राउ गर्न थाल्यो। पत्रकारहरू प्रहरीले पक्राउ गरेको भिडियो खिच्न थाले। त्यही क्रममा केही प्रहरीले भिडियो खिचिरहेका पत्रकारको क्यामरा खोस्ने प्रयास गरेपछि पत्रकारहरूले विरोध गरे।
प्रहरी र पत्रकारबिच सुरु भएको विवाद समाधानको प्रयास गर्नुको साटो कास्की प्रहरीका प्रवक्ता समेत रहेका डिएसपी वसन्तकुमार शर्मा उल्टो पत्रकारहरूसँग विवादमा उत्रिए।
प्रहरी पनि बिच सडकमा उभिएको थियो। पत्रकारहरूले बिच सडकमा समातिएका रास्वपाका कार्यकर्ताहरूको भिडियो खिचेका थिए। पक्राउ गरेको भिडियो खिचेकोमा प्रहरी रिसाएका थिए। अनि उनीहरू सडकमा उभिएर किन भिडियो खिचेको भन्ने बहाना गर्दै पत्रकारमाथि उल्टो जाइलागे।
प्रहरीले समय नेपाल डटकमका पत्रकार सन्देश बरालको क्यामरा खोस्ने प्रयास गरेका थिए। जनसञ्चार डट कमका पत्रकार ओम हमाल र नीति प्रेस डट कमका पत्रकार माधव पोखरेल र प्रहरीबीच विवाद सुरु भयो।
दुवै पक्षको विवादमा प्रहरीले सडकमा उभिएर किन भिडियो खिचेको भनिरहे भने पत्रकारले जहाँ पक्राउ गर्यो त्यहीँ खिच्ने त हो, किन बिच सडकमा समातेको भन्दै प्रतिवाद गरे।
विवाद बढ्दै जाँदा भिडियो खिचेर, अनुहार देखाएर केही फरक पर्दैन भन्दै डिएसपी शर्मा रिसाए। पत्रकार र प्रहरीबीच एकले अर्कालाई नसिकाउन लामै समय विवाद भएको थियो।
कास्की प्रहरीले रविलाई बुटवलको सुप्रिम सहकारीको रकम अपचलनमा बयानका लागि मंगलबार रुपन्देही पठाएर शुक्रबार पोखरा फिर्ता ल्याएको थियो।
कात्तिक ३०, २०८१ शुक्रबार २२:३३:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।