जातका कुरा : श्रीमान्देखि प्रचण्डसम्मबाट ‘धोका’ पाएकी सुनितालाई जातले दिएको हैरानी
२०५५ सालतिर हाँसखेल गरेर बिताइने बिस-बाइसे उमेरमा थिइन् धरानकी सुनिता मरिक। व्यावसायिक र सामाजिक दुवै तवरले गज्जब चलेको थियो धरानमा उनको कम्प्युटर इन्स्टिच्युट।
समयक्रम सँगै धरानका स्थानीय पत्रकार आनन्द श्रेष्ठसँग प्रेम भयो सुनिताको। त्यस बेलासम्म आफ्नो जीवन खुसीसाथ चलाइरहेकी सुनिता आनन्दसँगको प्रेमपछि भने उस्तो धेरै खुसी हुन सकिनन्। कारण थियो, सुनिताको पछाडि जोडिएको नाम 'मरिक।'
सुनिताको मनले आनन्दसँग प्रेम गरेको थियो तर, समाजले 'मरिक' र 'श्रेष्ठ'ले प्रेम गरेको देखेको थियो। नभन्दै बाधक पनि यही भयो। चार वर्षको प्रेम सम्बन्ध चलिसकेपछि उनीहरूले विवाह गर्न निर्णय गरे।
दुवै पक्षको सहमति भयो। सहमति पनि के भन्नू, आनन्द त मानिरहेकै थिएनन्। ८५ वर्षीय आमाले मान्नुहुँदैन 'तल्लो जात' भनेर, आनन्दको बहाना यही थियो। र पनि सबैले सम्झाई बुझाइ गरेपछि त्यो बेला उनले बिहे गर्ने भए।
विवाहको मिति फिक्स भयो। सामान्य तरिकाले बिहे सक्काउने योजनाअनुरूप निम्तो बाँडिएको थियो। तयारी पनि पुरापुर थियो। तर, बिहेको दिन आनन्द गायब भइदिए। अलि पछि पत्ता लाग्यो, उनी भागेर काठमाडौँ हानिएछन्। त्यसपछि सुनिताको मनमा पर्नु पिर पर्यो।
'उहाँले आँटै गर्न सक्नु भएन, अहिले मलाई लाग्छ, उहाँ मलाई बिहे गर्नै चाहनुहुन्न रैछ, उहाँको नियत नै त्यस्तै रैछ,’ सुनिता सम्झिन्छिन्।
त्यसबेला सुनिता नेपाली काँग्रेसमा आबद्ध थिइन्। कांग्रेसको महाधिवेशन थियो, त्यही मेसोमा काठमाडौँ आइन्। सुनिताका बुबा बेचन काठमाडौँमै थिए। त्यो सबै कुरा बेचनले थाहा पाए। बेचनले आनन्द काठमाडौँ आएको तत्काल पत्ता लगाए अनि झिकाए।
बेचनको घरमा आनन्द र उनका साथी भेला भए। बिहे क्यान्सिल भएको २० दिनपछि फेरि बेचनले कन्यादान दिए सुनितालाई, काठमाडौँकै एक मन्दिरमा।
यहीबीचमा माओवादीको दुई महिने नेपाल बन्द सकियो। आनन्द र सुनिता धरान फर्किए। बेचन पनि फर्किए।
पुर्ख्यौली ठाउँ धरानमा बेचनले छोरीको भोज खुवाउन चाहे, साथीभाइ इष्टमित्र राख्नु जो थियो। तर, आमाकै कारण देखाएर वा भनौँ 'डोम' बिहे गरेको अरूले थाहा नपाओस् भनेर आनन्दले भोज नै गराउन दिएनन्। बेचन छोरीको बिहेको भोज खुवाउने धोको माया मारेर काठमाडौँ फर्किए।
आनन्द र सुनिताको बिहे धरानमा धेरैले थाहा पाए। त्यसपछि सामाजिक जागरण भन्दै सम्मान गर्न बोलाउँथे। तर, आनन्दले कहिले मानेनन्। आनन्दले बिहे दर्ता गराउन पनि मानेनन्। बल्लतल्ल बिहे गरेको दुई वर्षपछि बिहे दर्ता गरेको सुनिता सम्झिन्छिन्।
अब कुरा आयो, सन्तानको। बिहे गरेको ४/५ वर्ष भइसक्यो, सन्तान छैन। घर अनि समाजमा खोज्न थालियो। तर, भित्री कारण अर्कै थियो।
सुनितासँग बिहे गर्नुअघि आनन्द डिभोर्सी पुरुष थिए। त्यताबाट एकजना सन्तान थिए। सुनितासँगको सन्तान नजन्माउनुको कारण त्यो एउटा थियो अनि अर्को चाहिँ डोमसँग किन सन्तान जन्माउनु भन्ने पनि थियो, सुनितालाई यस्तै लाग्ने रहेछ।
सन्तान नजन्माउन आनन्दले गर्भपतन गराए। गर्भ बसेको थाहा पाउनासाथ गर्भ खेर जाने औषधि खान दिएको उनको शङ्का छ। जसोतसो बिहे गरेको पाँच वर्षपछि उनको गर्भ बस्यो। र, छोरी जन्माइन्।
यसैगरी १० वर्ष चल्यो सुनिताको जीवन। छोरी जन्मिएको पाँच वर्षपछि उनले अंश दाबी गरिन्। सुनिताकै शब्दमा, 'अति भएपछि अलग हुनुपर्यो भनेर सोचेँ अनि उसको घर गएँ।'
अन्ततः ०७४ सालमा उनीहरूको औपचारिक कानुनी सम्बन्ध विच्छेद भयो। मनको डिभोर्स पहिल्यै भइसकेको थियो। जातकै कारण आफ्नो सम्बन्ध सकिएको लागिरहन्छ सुनितालाई।
OOO
४८ वर्षअघि सुनसरीको धरानमा जन्मिएकी सुनिता मरिकको पारिवारिक स्थिति ठिकै थियो। बुवाको औषधि पसल थियो। त्यो पनि राम्रो चलेको थियो। सम्पन्नै परिवारमा भए पनि जातीय विभेदको भोगाइबाट अछुतो रहिनन् उनी।
सुनिताले धरानकै पञ्चायत माविमा तीन कक्षासम्म पढिन्। अनि श्री शारदा बालिका माविबाट ०४७ सालमा एसएलसी पास गरिन्। त्यसपछि महेन्द्र बहुमुखी क्याम्पसमा सिएल अध्ययन सुरु गरिन्।
२०५० सालमा सिएल सकेकी उनले त्यसपछि डिप्लोमा पढ्न थालिन्। ०५१ सालबाटै बिबिएस पढ्न थालेकी सुनिताले महेन्द्र क्याम्पसबाटै बिबिएस सक्काइन्।
उनले बुवा बेचनले भनेका थिए, 'छोरी, यो देशमा राजनीति भनेको तिमी हाम्रो लागि पटक्कै हैन। झुक्किएर पनि राजनीतिमा नलाग्नू।' तर महेन्द्र क्याम्पस पढ्दा अप्रत्याशित रूपमा उनको राजनीतिक यात्रा सुरु भयो।
त्यसको पनि आफ्नै कहानी छ:
३० को दशकमा धरानमा आर्थिक रूपमा सम्पन्न थिए बेचन मरिक र उनको परिवार। कहिले जागिर त कहिले आफ्नै व्यवसाय गरेका बेचनको सामाजिक प्रतिष्ठा नै उनको आर्थिक हैसियत थियो।
तर, यति भन्दै गर्दा जबजब जातको कुरा आउँथ्यो, बेचनको हैसियत एक्कासि तल भइजान्थ्यो। यही कुराले हैरान थिए बेचन।
यत्तिकैमा उनले क्षेत्री थरकी महिलासँग विवाह गरे। बेचनकी आमाले अछुत भित्र्याएको भन्दै प्रतिवाद गरिन्। त्यही कुरा सहन नसक्दा उनको प्यारालाइसिस (पक्षघात) भयो। त्यो बेला सामाजिक तिरस्कारको त कुरा गरिसाध्य छैन। तर, बेचनले हार मानेनन्। उनले यो सबैको कारण खोज्दै गए।
एकदिन, बेचनलाई थाहा भयो- समाजमा जात व्यवस्था छ। जात व्यवस्थाले कोही तल कोही माथि छ। यसको समाधान राजनीति हो। यत्ति बुझेपछि उनी राजनीतिमा होमिए।
त्यसो त पहिल्यैदेखि कम्युनिस्ट विचारधाराका पुस्तकहरू पढिरहन्थे बेचन। छोरी सुनितालाई पनि प्रशिक्षित गरिरहन्थे। अब सधैँ यसरी हुँदैन, चुनाव लड्नुपर्छ भन्ठानेर उनी जिल्ला पञ्चायतको चुनाव लड्ने तयारीमा लागे।
चुनावमा उनले भएभरको सम्पत्ति सक्काए। गर्नुपर्ने कसर केही बाँकी राखेनन्। तर एक मतले चुनाव हारे। कारण खोज्दै जाँदा आफूले जितेको चुनाव पनि 'डोम' भएकै कारण एक मतले हराइएको थाहा पाएको छोरी सुनिताले सुनाइन्। त्यसपछि जीवनभर बेचनले राजनीति गरेनन्।
बेचनलाई लाग्यो- यो देशमा राजनीति हामीहरूको लागि हुँदै हैन।
OOO
आजको दिनमा दलितहरूको मुक्तिको लागि राजनीति नै प्रमुख अस्त्र लाग्छ सुनितालाई। अब राजनीतिक यात्रा नछोड्ने पक्षमा छिन् उनी। तर, राजनीतिको सुरुवात भने नचाहँदा-नचाहँदै भएको थियो उनको।
२०४९ मा अनेरास्ववियुबाट महेन्द्र क्याम्पसको स्ववियु सचिवको उम्मेदवार बनिन् सुनिता। नभन्दै, चुनाव पनि जितिन्। बुबाले थाहा पाए। गाली नगर्ने कुरै भएन। त्यसपछि तीन महिनाजति काम गरेर उनले राजीनामा दिइन्। एमालेको राजनीति त्यही पूर्णविराम लाग्यो। त्यही बिचमा उनले पढाउन पनि थालिसकेकी थिइन्।
०६१ मा, धरानका दलितहरूले नागरिक कल्याण समाज भन्ने संस्था खडा गरे। त्यसले विभिन्न कार्यक्रमहरू गर्थे। त्यसैक्रममा इटहरीमा एउटा कार्यक्रम थियो, त्यहीबेला कांग्रेस नेता हरिशंकर परियार भौतिक तथा योजना मन्त्री थिए।
धरानकै नेता मीन विश्वकर्मा दलित संघको केन्द्रीय सदस्य थिए। हरिशंकर र मीन दुबैजना त्यो कार्यक्रममा उपस्थित भएको मेसोमा सुनिता पनि दलित संघमा प्रवेश गरिन्। उनी काँग्रेसनिकट दलित संघको केन्द्रीय सदस्य बनिन्।
त्यही वर्षको माघ १९ मा, तत्कालीन राजा ज्ञानेन्द्रले कु गरे। कांग्रेस कम्युनिस्ट नेताहरू राजालाई दाम चढाएर ढोग्न गएका थिए। त्यसमा सुनितालाई कांग्रेस बनाउने हरिशंकर पनि थिए। कम्युनिस्ट पृष्ठभूमिकी सुनिताले त्यो देख्नासाथ कांग्रेस छोडिहाल्ने निर्णय गरिन्।
राजनीतिक जीवन यस्सै चलिरह्यो। कांग्रेसलाई बिट मारेपछि एकदिन सुनिता सप्तरी पुगेकी थिइन्, त्यहाँ एक सामाजिक संस्थाको कार्यक्रममा भाग लिइन्। उनले त्यहाँ मन्तव्य राखिन्।
त्यसबेला उनले भनेकी थिइन्, 'पृथ्वीनारायण शाहले पनि नेपाल चार जात ३६ वर्णको साझा फूलबारी भनेका थिए। त्यसो भए दलितहरू कुन चैँ बारीको फूल हुन्? फूल हुन् कि हैनन्? झारपात हुन् भने मासिदिनु पर्यो, दलितहरूबाट राज्यलाई त्यत्तिकै टाउको दुखाइको विषय छ भने सबै दलितलाई उखालेर फाल्दिए भयो। हैन, दलितहरू पनि फूल हुन् भने मलजल गर्नुपर्यो नि। यो देश कसैको बाउको बिर्ता त हैन। अनि किन त्यो चार जात ३६ वर्णको साझा फूलबारीमा दलितलाई नसमेटेको?'
त्यही भाषणबाट प्रभावित भएर भूमिगत माओवादी नेता दीपक लकान्द्री, मानबहादुर विकलगायत आएर सुनितालाई माओवादीमा लाग्न आग्रह गरे।
पटक पटक आग्रह गर्दा पनि वास्ता नगरेकी सुनिताले 'दलितलाई आरक्षण मात्र हैन, विशेष अधिकार दिनुपर्छ र, त्यो दिलाउन माओवादीले मात्र सक्छ' भनेपछि प्रभावित भइन्। र, ६३ मा धरान नगर कमिटीको सदस्य भएर माओवादीको राजनीति अघि बढाइन्। क्रमशः माओवादीको दलित मुक्ति मोर्चाको जिल्ला, क्षेत्र हुँदै केन्द्रीय सदस्यसम्म बनिन्।
OOO
दलितहरूलाई राज्यसत्ताको पहुँचबाट रोक्न कसरी लागि पर्छन् नेताहरू? वा भनौँ, प्रमुख दलका नेताहरू। सुनिताको तीतो अनुभव छ :
०६५ सालमा पहिलो संविधानसभा सदस्य निर्वाचन हुने भयो। माओवादीको रापताप गाउँ गाउँमा छँदै थियो। समानुपातिक सांसदतर्फ सुनिताको नाम सिफारिस भयो। त्यसबेला उनी गर्भवती पनि थिइन्। त्यो लगायत अरू थुप्रै कारणहरू देखाएर नेताहरूले ब्याक हुन आग्रह गरिरहे।
अन्तिममा तत्कालीन अध्यक्ष प्रचण्डलेसमेत कल गरेर 'ल कमरेड यसपालि तपाईँले ब्याक भइदिनुस्, अर्को पटक हेरौँला' भनेपछि सुनिताले छोडिदिइन्।
०६४ मा माओवादी फुटेर प्रचण्ड अनि मोहन वैद्य समूह भयो। तर, प्रचण्डले फोन गरेर ब्याक गराएकी सुनिता प्रचण्डसँगै रहिन्, सुनिताको ठाउँमा जित्नेले प्रचण्डको साथ छोडे।
०७२ मा बाबुराम भट्टराईको नयाँ शक्ति पार्टीमा लागिन्। केन्द्रीय सदस्य बनिन्। त्यति मात्र हैन, बाबुरामसहितको ७ सदस्यीय विशेष कमिटीमा बसेर काम गरिन्।
पछि बाबुराम भट्टराई र तत्कालीन उपेन्द्र महतोको मधेसी फोरमबीचमा एकीकरण भयो। उपेन्द्रसँग पुरानो सम्बन्ध भएकी सुनिताले उपेन्द्र र बाबुरामलाई मिलाउन विशेष भूमिका खेलिन्। फलतः एकीकरणपछि जसपा बन्यो, त्यो पार्टीको पनि केन्द्रीय सदस्य बनिन् सुनिता। अहिले पनि उनी केन्द्रीय सदस्य नै छिन्।
OOO
राज्यले दलितको नाममा दिइएको छात्रवृत्तिको अनियमितता भइरहेको थियो। दलितको छात्रवृत्ति स्कुलमा पङ्खा हाल्ने, मर्मत सम्भार गर्ने गरेर दुरुपयोग भइरहेको थियो, यो २०६१ सालतिरको कुरा हो। सुनिताले यो कुरा थाहा पाइन्। दलित समन्वय समिति थियो, धरानमा त्यसैमा थिइन् सुनिता पनि।
अनि लोकतान्त्रिक चौतारीमा उभिएर भाषण गरिन्। जिल्ला शिक्षा अधिकारी सुन्दर शाक्यलाई जुत्ताको माला लगाएर कालोमोसो लगाएर धरान घुमाइयो, त्यसको नेतृत्व सुनिताले गरेकी थिइन्।
त्यसपछि पब्लिक स्कुल धरानबाट छात्रवृत्ति माग्न गइन् सुनिता। अनि छ महिनाको अवधिमा सुनसरीका सबै स्कुलमा यो अभियान सफल भएको सुनिता सम्झिन्छिन्।
OOO
धरानमा सुनिताले ५५ देखि ७० सालसम्म कम्प्युटर इन्स्टिच्युट चलाइन्। त्यसबीचमा करिब १० हजार जतिलाई कम्प्युटर सिकाइन्। जसअन्तर्गत महिला, गृहिणी, जनजाति, एचआइभी पीडितहरूसम्म थिए। त्यसमा पनि ६० प्रतिशतलाई निःशुल्क पढाइन् भने ३५ सय बढी दलितलाई निःशुल्क पढाएको उनले सुनाइन्।
उनी त्यसपछि कहिले एनजिओहरूमा रहिन् त कहिले व्यापार गरिन्। त्यही मेसोमा ०७० मा काठमाडौँ आएकी उनले ७५ सालमा काठमाडौँमै होस्टेल चलाएर बस्ने सोच बनाइन्। तर, पैसा थिएन।
त्यसपछि तत्कालीन राजनीतिक सहयात्री नयाँ शक्ति पार्टीकी नेतृ करिश्मा मानन्धरसँग ५० हजार सापटी मागेर होस्टेल व्यवसाय थालिन्।
OOO
आफ्नै भोगाइका आधारमा सुनितालाई आफू दलित मात्र हैन दलित भित्रको पनि दलित भएको अनुभव हुन्छ। त्यसैले उनलाई लाग्छ यदि दलितलाई पहाडी दलित, मधेसी दलित र नेवारी दलितमा विभाजन नगर्ने हो भने दलितहरूबाट विश्वकर्मा, परियारहरूमात्र अघि बढिरहन्छन्। मरिकहरू पछि परिरहन्छन्।
त्यसको एउटा उदाहरण पेस गरिन् :
त्यसबेला सुनिता नयाँ शक्ति पार्टीमा थिइन्। पार्टीको दलित सङ्गठन 'दलित शक्ति नेपाल' गठनदेखि पुनर्गठनसम्म विश्वकर्माहरू मात्र सत्तामा देखिए। उनले एउटा बैठकमा विद्रोह गरिन्। जनसङ्ख्याको आधारमा संरचना बनाइनुपर्ने उनको माग थियो।
उनको माग पार्टीको केन्द्रीय तहसम्मै पुग्यो। अनि मात्र सम्बोधन भयो। दलितभित्र पनि आफूलगायत समुदाय पछि परेको कारण आफूलाई 'महादलित' घोषणा गर्ने सोचमा छिन् सुनिता।
कात्तिक २९, २०८१ शुक्रबार १९:३३:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।