नेपाल प्रिमियर लिगलाई सिद्धार्थ बैंकले मुख्य प्रायोजक गर्ने, स्टार स्पोर्ट्सबाट प्रसारण हुने
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)लाई सिद्धार्थ बैंकले मुख्य प्रायोजन गरेको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पत्रकार सम्मेलन गर्दै सिद्धार्थ बैंक एनपीएलको मुख्य प्रायोजक गर्ने जानकारी दिएको हो।
यो सम्झौतासँगै एनपीएलको नाम अब ‘सिद्धार्थ बैंक एनपीएल’ रहनेछ।
क्यानका सचिव पारस खड्काले सिद्धार्थ बैंक ५ वर्षका लागि एनपीएलको मुख्य प्रायोजक रहने जानकारी दिए।
क्यानका सचिव खड्काले सम्झौता रकम नखुलाए पनि नेपाली खेलकुदमा कीर्तिमानी रकम भएको बताए।
सिद्धार्थ बैंकका अध्यक्ष मनोजकुमार केडियाले सहकार्य गर्ने अवसर दिएकोमा क्यानलाई धन्यवाद दिए।
त्यसैगरी भारतको चर्चित खेलकुद ब्रोडकास्टर स्टार स्पोर्ट्सले ‘सिद्धार्थ बैंक एनपीएल’को प्रत्यक्ष प्रसारण गर्ने भएको छ।
क्यानले सोही पत्रकार सम्मेलनमा एनपीएल स्टार स्पोर्टसले प्रत्यक्ष प्रसारण गर्ने जानकारी गराएको हो।
यसका अलावा नेपालमा स्थानीय ब्रोडकास्टर र डिजिटल प्रसारणको बारेमा समेत केही दिनमा जानकारी गराउने सचिव खड्काले बताए।
क्यानको आयोजना र ८ टोलीको सहभागितामा मंसिर १५ गते पुस ६ गतेसम्म टियु क्रिकेट मैदानमा एनपीएल हुनेछ।
कात्तिक ३०, २०८१ शुक्रबार १७:३५:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।