नेपालको पहिलो बैंकको रोचक ‘कथा’ : २१ वर्ष भारतीय व्यवस्थापक, ग्राहकको पैसादेखि चेक चोरीसम्मका काण्ड
काठमाडौं : विक्रम संवत् १९९०, राणा शासन। बेलायतका लागि नेपाली दूतावासमा सचिव पदमा कार्यरत थिए गुञ्जमान सिंह। दूतावासको बैंकिङ कारोबार उनैले गर्थे। त्यहीबेला उनले बेलायतको व्यवस्थापकसँग बैंकिङ प्रणालीबारे बुझ्ने मौका पाए।
वि.सं. १९९३ मा उनी आफ्नो कार्यकाल सकाएर नेपाल फर्किए। सिंह मौद्रिक स्थिति औद्योगिकीकरणको निमित्त चाहिने आर्थिक लगानी तथा व्यापारिक क्षेत्रमा समेत विविधीकरण हुनुपर्ने बुझेका थिए।
१९९० देखि नै आर्थिक सुधार नगरीकन पुरानै शैलीले चल्न सक्ने अवस्थामा थिएन। राजनीतिक चेतना बढिरहेको थियो। बदलिँदो राजनीतिक परिस्थितिको भेललाई त्यति बेलाको सत्ताले थेग्न सकिरहेको थिएन। राज्यको आयआर्जनको बाटो समेत बदलिँदै थियो।
अन्य मुलुकमा औद्योगीकरण तीव्र रूपमा अगाडि बढिरहेको थियो। अन्य देशले औद्योगिकीकरणबाट मनग्गे आम्दानी गर्न थालिसकेका थिए। त्यता वित्तीय कारोबारका शैली समेत बदलिएर आधुनिकतातिर प्रवेश गरिसकेको थियो।
सिंहले त्यति बेलाका प्रधानमन्त्री जुद्ध शमशेरसमक्ष बैंक खोल्दा औद्योगिक विस्तार हुने र सिँचाइका लागि बैंक चाहिने सुझाव दिए। जुद्ध शमशेर उनको कुरामा सहमत भए। अनि १९९४ कात्तिक ३० मा नेपालको पहिलो बैंक खुल्यो, नेपाल बैंक लिमिटेडको नाममा।
पहिला नै नेपाल कम्पनी कानुन थियो नै। त्यही कानुन अन्तर्गत विराटनगर जुट मिल खुलेको थियो। त्यही कानुन अनुसार नेपाल बैंक ऐन बन्यो र त्यही कानुन अनुसार नेपाल बैंक लिमिटेड खुल्यो।
नेपालमा व्यापार र उद्योग बढाउन उद्योग परिषद् समेत गठन भयो। सरदार भीमबहादुर पाण्डेले २०४४ मा नेपाल बैंक लिमिटेडको स्मारिकामा लेखे अनुसार ‘नेपाल कम्पनी कानुन १९३६’ नामकरण गरिएको थियो। यसैका आधारमा विराटनगर जुट मिल र नेपाल बैंक कम्पनी लिमिटेड खुलेको थियो।
नेपालको पहिलो बैंकको उद्घाटन राजा त्रिभुवन शाहले गरेका थिए भने भाषण भने तत्कालीन प्रधानमन्त्री जुद्ध शमशेरले गरे। १९९४ मंसिर ११ शुक्रवारको गोरखापत्रमा छापिएको उनको भाषणमा भने ‘भर्खर जन्मेको बालकलाई जसरी यो बैंक उपर पालन पोषण गरी सामर्थ्यवान तुल्याउनतिर लाग्नु पर्छ।'
उनले भनेका थिए :
'मुलुकको आर्थिक उन्नतिको सहायक जस्तो भई बैंक रहेका हुन्छन् भन्ने सिद्धान्त सारा संसारले देखाइरहेका छ। दुनियाँमा कुन राज्य होस् जहाँ बिसौँ शताब्दीमा पनि बैंक नभएको होस्। अमेरिकाको युनाइटेड स्टेटको शाखा समेत हिसाब गरी ३० हजार, बेलायतमा १५ हजार, जर्मनीमा पाँच हजार र हिन्दुस्थानमा एक हजार जति बैंक रहेका छन् । हाम्रो यो नेपाल बैंक लिमिटेडले केके काम गर्ने छ भन्ने कुरा विवरण पत्रमा उल्लेख भएको । भर्खर जन्मेको बालकलाई जसरी यो बैंक उपर पालन पोषण गरी सामर्थ्यवान तुल्याउन तिर लाग्नु पर्छ।'
स्वर्ण जयन्तीको अवसरमा नेपाल बैंकले २०४४ सालमा निकालेको 'नेपाल बैंक लिमिटेडको संक्षिप्त इतिहास'मा लेखक खगेन्द्रनाथ शर्माले लेखे अनुसार नेपाल कम्पनी कानुनमा सरकारबाट ४० प्रतिशत शेयर खरिद गर्नुपर्ने व्यवस्था गरियो। जुद्ध शमशेर लगायत राणा परिवारले नै धेरैले शेयर किनेका थिए।
पब्लिक प्राइभेट पाटनर्शिपमा खोलिएको थियो नेपाल बैंक लिमिटेड। सर्वसाधारणले पनि शेयर किन्न पाउँथे। शेयरको मूल्य १ सय थियो। जब की त्यतिबेला ९७ प्रतिशत नेपालीको वार्षिक १ सय रुपैंया आम्दानी थियो।
सुरुमा झ्वाट्ट हेर्दा पब्लिक प्राइभेट पाटनर्शिप (पिपिपि) मोडल खोलेर उदार देखिए जस्तो भए पनि १ सय रुपैंयासमेत वार्षिक आम्दानी नभएका नेपाली जनताले एउटा शेयर किन्न सक्ने अवस्था थिएन। नेपाल बैंक खोल्दा जनताको भलो हुने भनी त्यति बेलाको प्रधानमन्त्रीले बोले। तर व्यवहारमा आम नागरिकले बैंकमा शेयर किन्न र रकम जम्मा गर्ने हैसियतमा थिएन।
बैंकको उद्देश्यहरूमा चल्ती बचत तथा मुद्दती खातामा रुपैयाँ डिपोजिट गर्ने, शिक्षा व्यापार शिल्पकला कृषि शहरलाई सफाइ र उन्नति सम्बन्धी स्किमहरूलाई जमानतमा पुँजी उपलब्ध गराउने, ग्राहकहरूका निमित्त विल अफ एक्सचेन्ज हुन्डी जारी गर्ने, गभरमेन्ट बण्ड र सिक्युरिटिजहरुमा लगानी गर्ने, ग्राहकहरूलाई बिमा नीति दिन सहयोग गर्ने, एजेन्सीको रूपमा काम गर्ने, बैंकका निमित्त घर जग्गा उपलब्ध गराउने, सरकारको बैंकको रूपमा काम गर्ने थियो।
यसैगरी नेपालको शिल्पकला र व्यापारको उन्नति गर्ने र आवश्यकता हेरेर मुलुक भित्र र बाहिर शाखा खोल्ने उद्देश्य थिए। नेपाल बैंक खुल्नु अघि नेपालमा तेजारथ अड्डाले मुद्रा प्रदाय नियन्त्रण गर्दथ्यो भने मुलुकी खानाले वित्तीय काम गर्ने गर्दथ्यो नेपाल बैंक स्थापना भएपछि भने दुवै अड्डाको काम नेपाल बैंक लिमिटेडले गर्यो।
२१ वर्षसम्म भारतीय व्यवस्थापन
नेपाल बैंक लिमिटेडको संरचनामा सञ्चालक समिति र बैंक सञ्चालन गर्ने व्यवस्थापन पक्ष रहेको देखिन्छ। सञ्चालक समितिमा राणाहरू आफै बसे। बैंक सञ्चालन गर्ने कौशल राणाहरूमा थिएन।
जनताका सन्तानलाई शिक्षाबाट वञ्चित गराएका राणाहरूले बैंक व्यवस्थापनमा भारतीय नागरिकलाई लिएको देखिन्छ। वि.सं. १९९४ मंसिर ११ गते प्रकाशन भएको समाचारमा नेपाल बैंक लिमिटेडका सञ्चालक समितिका अध्यक्ष बहादुर शमशेरले गरेको भाषणमा भारतीय नागरिक लिएको उल्लेख गरेका छन्।
१९ वर्षका ठाकुर सिंह कठैत काममा अनुभव हासिल गरेका मिस्टर ठाकुर कठैत चिफ म्यानेजर र अरू अनुभवी ४ जना हिन्दुस्तानी भएको उल्लेख गरेका छन् भने अरू नेपालीहरू भएको उल्लेख गरेका छन्।
स्वर्ण जयन्तीको अवसरमा नेपाल बैंकले २०४४ सालमा निकालेको 'नेपाल बैंक लिमिटेडको संक्षिप्त इतिहास'मा लेखक खगेन्द्रनाथ शर्माले लेखे अनुसार सुरुमा नेपाल बैंकका कर्मचारी १२ जना थिए। जसमा नेपालीहरू लक्ष्मीनाथ गौतम, गोविन्द राज भण्डारी, गजबमान सिंह, गोविन्द प्रसाद गोरखाली लगायतका थिए।
भारतीय नागरिक ठाकुर कठैत अनुभवी भनिए पनि नेपाल बैंकले सोचे जति काम गर्न सकेन। उनलाई हटाएर महानन्द जोशीलाई ल्याइयो। उनी पनि धेरै समय टिक्न सकेनन्। तेस्रोमा भारतीय नागरिक बुद्धिधन शम्मर्णलाई ल्याइयो। उनी उद्दण्ड स्वभावका भएकाले काम गर्न सकेनन्।
वि.सं. १९९९ भारतीय नागरिक कुँवर शिवचरण सिंहलाई ल्याइयो। उनी भने २०१४ सालसम्म टिके। व्यवस्थापकीय नेतृत्व उनैमा रह्यो। उनले पाउने उपदानको अलवा भारु १५ हजार पुरस्कार दिएर २०१४ सालमा असार १ गते बिदा गरियो।
कायममुकायम म्यानेजरमा आनन्द भक्त राज भण्डारीलाई लगाइए पनि उनलाई पूर्ण जिम्मेवारी दिइएन, विदेशी म्यानेजर खोजियो। यस पटक भने भारतीय नागरिक नभई अन्य खोज्यो सरकारले। मिस्टर जार्डिन, मिस्टर वर्गल र राल्फ वाइथले व्यवस्थापकीय नेतृत्व गरे। राल्फ वाइथले आर्थिक अनियमितता गरेको भन्दै २०२२ सालमा बिदा गरियो। कति अनियमितता गरेको भन्नेबारे उकेराले हेरेका दस्ताबेजमा उल्लेख छैन।
२०२२ साल अघि भारतीय व्यवस्थापक भए पनि सञ्चालक समिति भने नेपालीहरूकै थियो। सञ्चालक समितिमा बहादुर शमशेर जबरा डाइरेक्टर जनरल र सदस्यहरूमा मृगेन्द्र शमशेर, सोम शमशेर, डम्बर शमशेर क्षत्री, भक्तलाल राज भण्डारी र गुँजमान सिंह थिए।
त्यतिबेला कर्मचारीको तलब बैंकको म्यानेजरको दिनको ३ रुपैयाँ ५० पैसा शाखा म्यानेजरको दैनिक २ रुपैयाँ ५० पैसा हेड अफिसको अकाउन्ट डेलीको २ रुपैयाँ त्यसमुनिको कारिन्दाको १ रुपैयाँ ५० पैसा रेल भाडा सवारी १ रुपैयाँ दिइन्थ्यो।
त्यतिबेला उपत्यका बाहिर जाने कर्मचारीलाई नेपाली र विदेशी कर्मचारीलाई डोले र भरिया उपलब्ध गराइन्थ्यो। बैंक म्यानेजरलाई ५ डोले दुई भरिया, हेड अफिसलाई ४ डोले एक भरिया, अफिसर सरहले ३ डोले एक भरिया अनि त्यस मुनिका कारिन्दाले १ भरिया पाउँथे।
यो हालको काठमाडौंदेखि भिमफेदीसम्मलाई थियो। विदेशी कामदारलाई वर्ष दिनमा एक महिना बिदा दिने चलन थियो भने नेपाली कामदारलाई १७ दिन मात्रै बिदा दिइन्थ्यो।
शुरूमा खाता खोलेका थिए श्री ३ जुद्ध शमशेरले
नेपाल बैंक लिमिटेडको अधिकृत पुँजी १ करोड शेयर पुँजी २५ लाख पुर्याउने नियम थियो भने ४० प्रतिशत सरकारी ६० प्राइभेट शेयरको सीमा लगाइएको थियो। कम्पनी सुरु गर्दा रु ८ लाख ४२ हजारको मात्रै शेयर बिक्री भएको थियो। काम चलाउन ५० हजार र भारु ५० हजार मुन्सी खानाबाट रकम ल्याइएको थियो।
त्यतिबेला बैंकलाई चाहिने बहिखाता कागजपत्र मसलन्द फर्निचर र बैंकका कर्मचारी आदिका लागि २० हजार भन्दा बढी खर्च भएको थियो।
१९९४ साल कार्तिक ३० गते नै जुद्ध शमशेरले नेपाल बैंक लिमिटेडमा खाता खोलेका थिए। उनले एक हजार शेयर खरिद पनि गरेका थिए भने ५० हजार चल्ती खातामा राखेका थिए। नेपाल बैंकको पहिलो चेक बुक पनि उनैले पाएका थिए ।
१९९४ सालमा पुस १६ गते निर्धारित मुद्दतीको व्याज निर्धारण गरियो जसमा ३ महिने मुद्दती खातामा २ प्रतिशत छ महिनामा २.५ प्रतिशत अनि एक वर्षको ३ प्रतिशत ब्याजदर निर्धारण गरिएको थियो।
बैंक खुलेको ६ महिना नहुँदै विराटनगर जुट मिललाई ५ प्रतिशतको व्याजमा १ लाख रुपैयाँ कर्जा प्रवाह भएको थियो। एजेन्सी खाता नै खोलिएको थियो।
यसमा सरदार भीमबहादुर पाण्डेले उद्योग खोल्नु परेका कारण बैंक खोलिएको भन्ने तर्कमा दम देखिन्छ । त्यस्तै बचत बढोस् भन्नका लागि ०.५ प्रतिशत व्याज चल्ती खातामा समेत दिइएको थियो जब की चल्ती खातामा सामान्यतया व्याज दिइँदैन।
नेपाल बैंक काठमाडौंमा मात्रै केन्द्रित भएन। मूल नाकाको क्षेत्रहरूमा पनि विस्तार भएको देखिन्छ। १९९८ सालमा वीरगन्जमा र नेपालगन्जमा शाखा खुल्यो भने १९९९ सालमा भद्रपुर जनकपुर गौर र विराटनगरमा शाखा खुल्यो।
शाखा प्रमुख नाकामा विस्तारित हुनुमा व्यापार गर्ने नाका भएर रकम चाहिने अनि उद्योगधन्दा पनि त्यतै भएकाले तराईमा केन्द्रित गरेको देखिन्छ।
बैंक खुलेता पनि राम्रोसँग काम गर्न भने सकेको देखिँदैन। विक्रम संवत् २००० कार्तिक २५ गतेको गोरखापत्रमा छापिएको समाचार अनुसार दुई हजार सालमा ३ हजार ३ सय ७१ रुपैयाँ मुनाफा आर्जन गरे पनि सन्तोषजनक नै रहेको उल्लेख गरेको छ।
सुरुवातमा बहादुर शमशेर सञ्चालक समितिको प्रमुख भएता पनि १९९९ सालमा विजय शमशेर सञ्चालक समितिको अध्यक्ष भएका थिए। उनले दिएको प्रतिवेदनमा मन्दी भएकाले बैंकले सोचे जति काम गर्न नसकेको उल्लेख गरेका छन्।
निक्षेप र लगानीको कति थियो अन्तर ?
निजी र सरकारी साझेदारीमा खुलेको बैंकले आम सर्वसाधारणको पहुँचमा भने थिएन। बचत रकम कमै भएको देखिन्छ। १९९५ सालमा १९ लाख ८५ हजार बैंकले लगानी गरेकोमा १७ लाख २ हजार निक्षेप जम्मा भएको देखिन्छ।
यो वर्ष निक्षेप भन्दा लगानी बढी देखिए पनि त्यसपछिका वर्षहरूमा भने निक्षेपकै रकम ठुलो देखिन्छ। २९ लाख ६९ हजार निक्षेप जम्मा हुँदा १९९६ सालमा १८ लाख ४४ हजार मात्रै लगानी भएको देखिन्छ।
त्यस्तै १९९७ मा ३३ लाख ८ हजार निक्षेप सङ्कलन हुँदा २३ लाख ३६ हजार लगानी भएको देखिन्छ। १९९८ सालमा ३० लाख ८५ हजार निक्षेप सङ्कलन हुँदा लगानी १२ लाख ८२ हजार भएको देखिन्छ।
निक्षेप सङ्कलन बढ्दै जाँदा लगानीको वृद्धिदर कहिले बढ्ने कहिले घट्ने भएको देखिन्छ। १९९९ सालमा ३५ लाख ६६ हजार निक्षेप सङ्कलन हुँदा लगानी रकम पनि बढेर २७ लाख ९६ हजार पुगेको देखिन्छ त्यस्तै २००० सालमा ५८ लाख ८२ हजार निक्षेप सङ्कलन हुँदा ३८ लाख ९३ हजार लगानी भएको देखिन्छ।
ग्राहकको पैसा ‘चोरी भएपछि’
सुरुवाती दिनमा नेपाल बैंकले माल चलानी पनि गर्दथ्यो। शर्माले लेखेको पुस्तक अनुसार १९९८ सालमा वीरगन्जलाई आधार मानि काठमाडौं सामान पठाउँदा व्यापारीबाट जिम्मा लिई रेलवे र रोपवेबाट काठमाडौं सामान ढुवानी गरिन्थ्यो।
रक्सौलमा ९९ वर्षका लागि गोदाम राख्न जग्गा भाडामा पनि लिइएको थियो त्यहाँ अन्यत्रबाट सामान ल्याइन्थ्यो अनि बैंकले माल ढुवानी व्यापारी मार्फत गर्दथ्यो। २००४ साल बस्तु ढुवानी गरे पनि नेपाल बैंकले त्यसपछि भने गरेन।
नेपाल राष्ट्र बैंक नहुँदै मुद्रा सटहीका काम पनि नेपाल बैंकले नै गर्दथ्यो। २००८ सालमा भने डाँक सेवाबाट भारतमा पैसा पठाउँदा नमिठो घटना घट्यो। सधैँ झैँ २००८ सालमा भारू सयका नोटलाई आधा काटी बिमा कभर भित्र राखी रकम पठाइन्थ्यो।
सो आधा रकम पुगेको खबर आएपछि यता बाँकी काटेको रकम पठाइन्थ्यो। २००९ साल सम्मा ५० हजार भारु त्यसरी नै आधा काटेर पठाइयो। त्यसमध्ये २० हजार आधा काटेको भाग चोरी भयो। त्यसपछि भने डाँक सेवा बाट पैसा पठाउन छाडियो ।
त्यस्तै २०१२ सालमा रौतहटको गौरमा केन्द्रीय कार्यालयले तोकेको भन्दा पनि बढी सामानको मूल्य देखाइ कर्जा दिइयो। त्यतिबेला यो कामको जिम्मा खजान्चीले लिन्थे। गौरमा यो घटना घटेपछि बैंकलाई नोक्सान पुर्याएको भनी खजान्चीलाई जिम्मेवारी दिनै छाडियो।
त्यस्तै केन्द्रीय कार्यालयमा नै अनौठो घटना भएको भन्दै अनुसन्धान भयो। ग्राहकको चेक चोरी गरेर किर्ते हस्ताक्षर गरी १५ हजार नगद झिकेको आरोपमा ५ जनालाई जेल हालियो। एक जनाको जेलमा नै मृत्यु भए पनि ४ जनालाई भने प्रमाण नपुगेको भनेर छाडियो।
अधिकार खोसियो
नेपाल बैंकको स्थापनाकालको झन्डै २५ वर्ष पछि २०१९ सालमा दुई जना महिला कर्मचारीको नेपाल बैंकमा प्रवेश भयो। त्यसपछि बैंकमा बिस्तारै महिलाहरूको प्रवेश भएको देखिन्छ। २०३२ सालमा त एक शाखामा महिलाले नेतृत्व नै गरेका थिए।
नेपालको पहिलो बैंक भएका कारण नेपाल बैंकसँग मौद्रिक अधिकार समेत थियो। २०१३ सालमा नेपाल राष्ट्र बैंक खुलेपछि भने त्यो खोसियो। त्यसको ९ वर्ष पछि नेपाल राष्ट्रिय वाणिज्य बैंक खुल्यो।
त्यसपछि भने वित्तीय कारोबारमा नेपाल बैंक लिमिटेडको एकाधिकार रहेन। २०४२ साल पछि नेपाल उदारीकरणमा गयो। उदारीकरणमा गएपछि निजी क्षेत्रको बैंक खुल्ने लहर नै चल्यो।
नेपाल बैंकको स्थापना बाध्यताले होस् या रहरले त्यतिबेला १९९४ मा बैंक खुल्यो। अहिले ८८ वर्ष पुग्यो।
कात्तिक ३०, २०८१ शुक्रबार १५:५०:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।