दुई दलीय संयन्त्रबाट सरकार सञ्चालन गर्न सहज हुने उपप्रधानमन्त्री सिंहको दाबी
विराटनगर : उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले भर्खरै निर्माण भएको दुई दलीय संयन्त्रबाट सरकार सञ्चालन गर्न सहज हुने दाबी गरेका छन्।
नेपाल प्रेस युनियन मोरङ शाखाद्वारा आयोजित पत्रकार भेटघाटमा उपप्रधानमन्त्री सिंहले दुई ठूला दलले तयार गरेको संयन्त्रबाट दलहरूबीच समन्वय एवं समझदारी गर्न बल पुग्ने विश्वास व्यक्त गरे।
उनले सातबुँदे सहमतिबाट बनेको वर्तमान सरकारले थोरै समयमा धेरै उल्लेखनीय काम गरेको चर्चा गर्दै सरकारले जनताको चाहनाअनुसार काम गरिरहेको दाबी गरे।
उपप्रधानमन्त्री सिंहले दोस्रो संविधानसभा पछि जारी भएको वर्तमान संविधानको संशोधन कुन-कुन विषयमा गर्ने भन्नेबारे छलफल भइरहेको उनको भनाइ छ। उनले प्रदेशले संविधानमा व्यवस्था भएबमोजिम अधिकार पाउने समेत प्रतिबद्धता व्यक्त गरे।
सहकारीको रकम अपचलन र ठगी गर्नेलाई कानूनअनुसार कारबाही गर्ने बताउँदै उनले सरकार विधिको शासनको पक्षमा रहेको बताए।
कात्तिक ३०, २०८१ शुक्रबार १४:०५:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।