छक्का पञ्जा ५ : आफ्नै हलमा एक शो दिँदा पनि रित्तै, ५१ दिन मनाउने दीपक-दीपाको लोभ
काठमाडौं : सिनेमा हलमा फिल्मले ५१ दिन मनाउनु भनेको सानोतिनो उपलब्धि होइन। एक सातामा हलमा दर्शक टिकाउन गाह्रो भइरहेको समयमा दर्शकले ५१ दिनसम्म एउटै सिनेमा हेर्नु चानचुने कुरा होइन।
५१ दिन मनाउनका लागि देशभरका कुनै न कुनै हलमा फिल्म चलेकै हुनुपर्छ। त्यो गिन्ती पुर्याउन निर्माता दीपकराज गिरी र निर्देशक दीपाश्री निरौलाले ‘छक्का पन्जा ५’लाई आफ्नै हलमा शो राखिरहेका छन्।
उनीहरू दर्शक नै नआए पनि शो राखेकै भरमा ५१ दिन मनाउने सुरमा देखिन्छन्। तर, फिल्म रिलिजको ३७औं दिन आज नै फिल्मले दम तोडिसकेको छ।
नयाँ बानेश्वरको एनबी कम्प्लेक्समा रहेको आईएनआई सिनेमा हल दीपक र दीपाकै हो। उक्त हलमा आजको लागि एक शो राखिएको छ। त्यो पनि दिउँसो १ बजे।
दिउँसो १२ बजेर ४४ मिनेटमा उक्त शोको टिकटक एक जनाले पनि खरिद गरेका छैनन्। यसले नै फिल्मले दम तोडिसकेको पुष्टि गर्छ।
तर, फिल्म हेर्न दर्शक आउन् वा नआउन् तर आफ्नो फिल्मले ५१ दिन मनाउनुपर्छ भन्ने सोच दीपक-दीपामा रहेको स्पष्ट देखिन्छ। त्यसैले त उनीहरू दर्शन नै नआएको आफ्नो फिल्मलाई पनि शो दिइरहेका छन्।
आजका लागि मात्र होइन, यो हलले ‘छक्का पञ्जा ५’का लागि हरेक दिन दिउँसो एक बजेको शो टाइम दिएको छ।
सोही हलमा सात वटा शो ‘पूर्णबहादुरको सारङ्गी’ले पाउँदा ‘ह्रस्व दीर्घ’ले दुई र हिन्दी फिल्म ‘भुल भुलैया’ले एक शो पाएको छ। ‘पूर्णबहादुरको सारङ्गी’को अधिकांश शो हाउसफूल हुँदा अन्य फिल्मको पनि अकुपेन्सी राम्रै छ।
‘छक्का पञ्जा ५’ सँगै प्रदर्शनमा आएको फिल्म ‘१२ गाउँ’ले आज क्यूएफएक्स सिभिल मल र बानेश्वरको वान सिनेमाजमा दुई शो पाएको थियो। ती दुई शोमा २० देखि ३० प्रतिशत अकुपेन्सी देखियो भने भोलिका लागि समेत केही टिकट बिक्री भइसकेका छन्।
कात्तिक ३०, २०८१ शुक्रबार १३:१५:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।