कांग्रेसका सांसद र मन्त्रीबीच जुहारी : बजगाईंले भ्रष्टाचार गरेको आरोप लगाएपछि मन्त्री पाण्डेद्वारा अनुशासन समितिमा उजुरी

कांग्रेसका सांसद र मन्त्रीबीच जुहारी : बजगाईंले भ्रष्टाचार गरेको आरोप लगाएपछि मन्त्री पाण्डेद्वारा अनुशासन समितिमा उजुरी

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा नेपाली कांग्रेसमा सहमहामन्त्री बद्री पाण्डेले नेपाली कांग्रेसकै सांसद राजेन्द्र बजगाईंले श्रृङ्खलाबद्ध रूपमा आफूविरुद्ध कुप्रचार गरेको भन्दै कारबाहीका लागि पार्टी केन्द्रीय अनुशासन समिति र संसदीय दलमा उजुरी दिएका छन्।

अनुशासन समितिमा बिहीबार र संसदीय दलमा शुक्रबार बुझाइएको उजुरीमा बजगाईंले आफू मन्त्री नियुक्त भएदेखि नै श्रृंखलावद्ध रूपमा विभिन्न आरोप लगाउँदै सामाजिक सञ्जालहरूमा कुप्रचार गर्दै आएको पाण्डेले आरोप लगाएका छन्।

‘नेपाली कांग्रेसको निर्वाचित माननीय सांसदले पार्टीको आन्तरिक अनुशासन र मेरो व्यक्तिगत इमान र निष्ठामा धावा बोल्ने गरी भए गरेका निराधार आरोपले मेरो व्यक्तिगत भावना माथि मात्र गम्भिर चोट नपुगी पार्टीको विचार, सिद्धान्त र आदर्शमा समेत आँच पुगेको छ,’ उजुरीमा भनिएको छ, ‘लोकतन्त्र र विधिको शासनमा यस खाले अवाञ्छित क्रियाकलापलाई कानुनको दायरामा नल्याएसम्म अराजकताले प्रोत्साहन पाइ इमान र निष्ठाको उपहास हुनेछ।’

बजगाईंले एक क्यासिनोलाई इजाजत दिँदा भ्रष्टाचार गरेको भन्दै मंगलबार सामाजिक सञ्जलमा पोस्ट गरेपछि त्यसलाई लिएर केही अनलाइनहरूले समाचार प्रकाशित भएका थिए। सो सम्बन्धी समाचार सार्वजनिक भए लगत्तै मन्त्री पाण्डेले आफूमाथि निराधार आरोप लागेकाले त्यस विरुद्ध कानूनी बाटो अपनाउने प्रतिक्रिया दिएका थिए। त्यसपछि बजगाईंले पाण्डे विरुद्धका सबै पोस्टहरू सामाजिक सञ्जालबाट हटाएका थिए।

लिखित उजुरीमा भनिएको छ, ‘मन्त्रीको सपथ ग्रहण भएको मितिदेखि श्रृङ्खलाबद्ध रूपमा मन्त्रालयको कामकारबाही र मेरो व्यक्तिगत चरित्र र मानमर्यादामा आँच पुग्ने गरी कुत्सित मनसायका साथ घुस÷रिसवत जस्तो गम्भीर आरोप लगाई, कुप्रचार गर्दै मेरो व्यक्तिगत नैतिक आचारण र ख्यातिमा दोष लगाउने जस्ता कलुसित, अमर्यादित र गैर कानूनी कार्य गरी आउनुभएको छ। यस कार्यले नेपाली कांग्रेस पार्टी र मेरो व्यक्तिगत चरित्र र पार्टीको आन्तरिक अनुशासन तथा अंगिकार गरेका मूलभूत विचार र सिद्धान्तलाई समेत खलल पुर्याएको छ।’

उनले उजुरीमा अगाडि लेखेका छन्, ‘मेरो निष्ठा र इमानको बाटोलाई कुनै पनि प्रकारको दाग लाग्न नदिन दृढ सङ्कल्पित छु। माननीय बजगाईंका अवाञ्छित अराजक र गैरकानूनी कार्यले विधिको शासन, लोकतन्त्र, पार्टी र संसदीय पद्धती मर्यादा, कानुन र अनुशासनको समेत गम्भिर उलङ्घन गरेको छ।’

कात्तिक ३०, २०८१ शुक्रबार १२:२६:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।