टुकुचाको ढलमा भेटिएन सङ्क्रामक पोलियोको जीवाणु

टुकुचाको ढलमा भेटिएन सङ्क्रामक पोलियोको जीवाणु

काठमाडौं : गत असारमा टुकुचाखोलाको ढलमा भेटिएको जीवाणु पोलियो सङ्क्रामक नभएको पुष्टि भएको छ।

थाइल्याण्डको बैंककमा गरिएको नमूना परीक्षणबाट उक्त जीवाणु पोलियो सङ्क्रामक नभएको राष्ट्रिय जनस्वास्वास्थ्य प्रयोगशालाकी मेडिकल प्रमुख लिली श्रेष्ठले जानकारी दिइन्।

‘टुकुचा खोलामा भेटिएको पोलियो भाइरस सर्यो वा सरेन भन्ने एकिन गर्न हामीले खोलामा मिसाइएको ढल र अन्य ठाउँबाट नमूना संकलन गरेर पटक-पटक परीक्षण गर्दा पुनः पोलियो भाइरस भेटेनौँ’, उनले भनिन्।

गत असारमा काठमाडौं महानगरपालिका-१२, त्रिपुरेश्वर नजिकै बागमती र टुकुचाखोला सङ्गमबाट नमूना सङ्कलनपछि परीक्षण गर्दा पोलयो फेला परेको थियो।

स्वास्थ्य सेवा विभागको बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमले टुकुचाखोलामा पोलियो जीवाणु देखिएपछि निरन्तर नमूना सङ्कलन गरेर १३ पटक परीक्षण गर्दा त्यो पुनः नभेटिएको बताए।

सन् २०१७ देखि खोप शाखाले ढलबाट नमूना सङ्कलन गरेर पोलियो जीवाणु परीक्षण गर्दै आएको छ।

काठमाडौं उपत्यकाका बागमती, धोबीखोला, मनहरा, विष्णुमतीबाट नमूना सङ्कलन गरेर महिनाको दुईपटक यस्तो परीक्षण गर्दै आएको खोप शाखा प्रमुख डा गौतमले बताए।

काठमाडौं उपत्यका बाहिर पोखरा, विराटनगर र जनकपुरका एक-एक स्थानबाट नमूना लिएर महिनाको एकपटक पोलियो जीवाणुको परीक्षण हुने गरेको छ।

सन् २०१० यता मुलुकमा पोलियो सङ्क्रमण भेटिएको छैन। पोलियो जीवाणुबाट फैलने पोलियो सङ्क्रामक रोग हो।

पोलियो सङ्क्रमणका बिरामीलाई ज्वरो आउने, पखाला लाग्ने, जिउ दुख्ने, थकान महसुस हुनेलगायत लक्षण देखिन्छन्।

कात्तिक २९, २०८१ शुक्रबार १२:१४:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।