एनपीएलका लागि सुदूरपश्चिम रोयल्स र म्यारीयटबीच सम्झौता
काठमाडौं : नेपाल प्रिमियर लिगका लागि सुदूरपश्चिम रोयल्सले काठमाडौं म्यारीयट होटेलसँग सम्झौता गरेको छ।
बिहीबार रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्का र म्यारीयटका सेल्स एण्ड मार्केटिङ विभागका क्लस्टर डाइरेक्टर विपुल कम्बोजले सम्झौतामा हस्ताक्षर गरेका हुन्।
खड्काले म्यारियटसँग सम्झौता गर्न पाउँदा खुसी व्यक्त गरे।
‘नेपालमा पछिल्लो समय पर्यटनको सम्भावनालाई मध्यजर गर्दै होटलमा लगानी गर्ने वातावरण बन्दै गइरहेको छ,’ उनले भने, ‘म्यारियटजस्तो विश्वकै अग्रणी संस्थाले नेपाली क्रिकेटको सम्भाव्यतालाई मध्यनजर गर्दै क्रिकेट र नेपालीको नयाँ ब्रान्ड एनपिएलमा गरेको लगानी स्वागतयोग्य छ।’
कम्बोजले एनपिएलका लागि उत्साहित रहेको बताए।
’हामी सुदूरपश्चिम रोयल्सलाई स्वागत गर्न पाउँदा उत्साहित छौँ। टोलीलाई उत्कृष्ट खेलका लागि शुभकामना दिन चाहन्छौं,’ उनले भने।
क्यानको आयोजनामा आठ टोलीको सहभागितामा मंसिर १५ देखि पुस ६ गतेसम्म एनपिएल हुनेछ। यसका लागि सुदूरपश्चिमले चार विदेशी खेलाडी पनि अनुबन्ध गरिसकेको छ।
टोलीको मेन्टरमा अष्ट्रेलियाका ब्राड हज र मुख्य प्रशिक्षकमा जगत टमाटा छन्। टोलीको मार्की खेलाडी दीपेन्द्र सिंह ऐरी हुन्।
कात्तिक २९, २०८१ शुक्रबार ११:४०:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।