ईंग्ल्यान्डका रविले चितवनबाट एनपीएल खेल्ने

ईंग्ल्यान्डका रविले चितवनबाट एनपीएल खेल्ने

काठमाडौं : ईंग्ल्यान्डका अलराउन्डर रवि बोपारा नेपाल प्रिमियर लिग (एनपीएल) मा जोडिएका छन्। उनलाई चितवन राइनोजले अनुबन्धित गरेको हो।

राइनोजले सामाजिक सञ्जालमा पोस्ट गर्दै बोपारालाई अनुबन्ध गरिएको जानकारी गराएको छ। उनले कुशल मल्लको कप्तानीमा खेल्नेछन्।

३९ वर्षीय बोपारा विगतमा ईंग्ल्यान्डको राष्ट्रिय टीमका नियमित सदस्य थिए। उनी ओपनिङ तथा मध्यक्रममा ब्याटिङ गर्छन् भने मिडियम पेस बलिङ गर्छन्।

उनले विश्वभरका अनेकौं लिग क्रिकेटहरू खेल्दै आएका छन्। हालै हङकङमा आयोजना भएको हङकङ सिक्सेसमा उनले ईंग्ल्यान्डको टिमबाट खेलेका थिए।

नेपालविरुद्धको खेलमा पनि उनी ईंग्ल्यान्ड टीममा थिए।

बोपाराले ईंग्ल्यान्डको राष्ट्रिय टीमबाट १३ टेस्ट, १२० एकदिवसीय र ३८ टी-२० अन्तर्राष्ट्रिय खेलेका छन्। उनले टेस्टमा तीन शतक र एकदिवसीयमा एक शतक प्रहार गरेका छन्।

कात्तिक २९, २०८१ शुक्रबार १०:५४:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।