सोलो रिलिज हुँदा समेत ‘ह्रस्व दीर्घ’लाई १२८ शो मात्र
काठमाडौं : केही साताअघि सम्म एकै साता तीन वटासम्म नेपाली फिल्म रिलिज भएको नेपाली सिनेमा हलहरूमा आज भने एउटै मात्र फिल्म ‘ह्रस्व दीर्घ’ रिलिज भएको छ।
दशैंको फूलपाती र तिहारको लक्ष्मीपूजादेखि प्रदर्शनमा आएका फिल्मको दबदबाका कारण सोलो रिलिज हुँदा समेत फिल्मले खासै शो पाउन सकेको छैन।
‘पूर्णबहादुरको सारङ्गी’ले बक्स अफिसमा सुनामी ल्याईरहेको बेलामा ‘ह्रस्व दीर्घ’ले देशभरबाट शुक्रबारका लागि १२८ शो प्राप्त गरेको छ। उता ‘पूर्णबहादुरको सारङ्गी’ले भने शुक्रबारका लागि दुई सय ५० भन्दा बढी शो पाएको छ।
चलचित्रको हाइप र बजेट अनुसार प्राप्त शो संख्या पर्याप्त होइन। तर, ‘पूर्णबहादुरको सारङ्गी’मा दर्शकको उछाल रहेका बेला हलहरूले ‘ह्रस्व दीर्घ’लाई धेरै शो छुट्याउन सक्ने अवस्था पनि छैन नै!
पहिलो दिनमा दर्शकको चाप देखिए पक्कै पनि हलहरूले शो थप्न सक्छन्। तर, ओपनिङ गतिलो भएन भने अहिले पाएको शो पनि गुमाउनुपर्ने अवस्था हुन्छ।
चलचित्रको ट्रेलरले राम्रै प्रतिक्रिया पाइरहँदा निर्माण पक्षले राम्रो ओपनिङको आशा राखेको छ। दक्षिण भारतका चर्चित कलाकारहरु भएकाले पनि यो चलचित्रप्रति दर्शकको चासो देखिन्छ।
‘ह्रस्व दीर्घ’ मा नेपाली कलाकाहररु नीता ढुंगाना, हरिहर अधिकारी, विपना थापा, प्रशान्त ताम्राकार, सञ्चीता लुईटेल, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आदर्श मिश्र, बुद्धि तामाङ र किरण केसीलगायतका कलाकारको अभिनय छ।
दक्षिण भारतीय कलाकार ब्रह्मानन्दम, प्रदीप रावत र सुनिल बर्मा पनि पर्दामा देखिने छन्। नीता फिल्मस्को प्रस्तुतिमा निर्माण भएको चलचित्रमा हरिहर अधिकारीको कथा र प्रतीक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद छ।
कात्तिक ३०, २०८१ शुक्रबार १०:१०:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।