सरुवा भएका कर्मचारीलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन मन्त्रालयको कडा निर्देशन

सरुवा भएका कर्मचारीलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन मन्त्रालयको कडा निर्देशन

काठमाडौं : सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न कार्यालयमा सरुवा, पदस्थापना र काज फिर्ता गरिएका कर्मचारीहरूलाई सात दिनभित्र सम्बन्धित कार्यालयमा हाजिर हुन कडा निर्देशन जारी गरेको छ।

सरुवा, पदस्थापना र काज फिर्ताबारे मन्त्रालयले गरेको निर्णयको अवज्ञा गरी सम्बन्धित कार्यालयमा हाजिर नगर्ने कर्मचारी र रमाना नदिने कार्यालयहरूलाई परिपत्र गर्दै मन्त्रालयले कडा निर्देशन दिएको हो।

मन्त्रालयले सरुवा भएका कर्मचारीलाई हाजिर गराउने र उनीहरूको रमाना व्यवस्थापन गर्न सबै मन्त्रालय, आयोग, सचिवालय, प्रदेश र स्थानीय तहलाई निर्देशन जारी गर्दै निर्देशन अवज्ञा गरेमा कडा विभागीय कारबाही गर्ने चेतावनी समेत दिएको छ।

रमाना नदिएका/नलिएका कारण सार्वजनिक सेवा प्रवाहमा प्रत्यक्ष असर परेको तथा कर्मचारी व्यवस्थापन समेत प्रभावित भएकाले तत्-तत् कर्मचारीहरूलाई निजामती सेवा नियमावली, २०५० को नियम ४० बमोजिम निर्देशन दिइएको मन्त्रालयले स्पष्ट गरेको छ।

परिपत्र अनुसारका निर्देशनहरू यसप्रकार छन्-

१. हालसम्म सरुवा/पदस्थापन/कामकाज/काजमा खटाइएका र काज फिर्ता गरिएका कर्मचारीहरूलाई निजामती सेवा नियमावली, २०५० को नियम ४० बमोजिम रमाना दिई ७ (सात) दिनभित्र सोको जानकारी यस मन्त्रालयलाई गराउने।
२. सरुवा/पदस्थापन/कामकाज/काजमा खटाइएका र काज फिर्ता गरिएका कर्मचारीहरूको सम्बन्धमा निजामती सेवा नियमावली, २०५० को नियम ४० बमोजिम रमाना लिने अवधि गुज्रिएपश्चात साविकका निकाय/कार्यालयमा निजहरूको किरिया विदा, बिरामी विदा र प्रसुति विदा बाहेक अन्य विदा स्वीकृत नगर्ने/नगराउने।
३. निजामती सेवा नियमावली, २०५० को नियम ४० बमोजिम रमाना भई नजाने कर्मचारीहरूलाई उपलब्ध गराउने सेवा, सुविधा र पारिश्रमिक सम्बन्धित कार्यालय प्रमुख र आर्थिक प्रशासन प्रमुखबाट असुलउपर गर्नका लागि सम्बन्धित निकायलाई अनुरोधसहित पत्राचार गर्ने।
४. बुँदा नं. १-३ सम्मका निर्णय कार्यान्वयन नगर्ने/नगराउने विभागीय प्रमुख/कार्यालय प्रमुख र सम्बन्धित कर्मचारीलाई निजामती सेवा ऐन, २०४९ को दफा ६० बमोजिम विभागीय सजायसम्बन्धी कारबाही अघि बढाउने।

कात्तिक ३०, २०८१ शुक्रबार ०८:०९:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।