प्रहरीले पत्रकार भुलको कुटपिटपछि हत्यामा संलग्न ५ जनालाई मात्रै पक्राउ गरेको आरोप, अन्य ५ लाई तत्काल पक्राउ गर्न माग
काठमाडौं : राष्ट्रिय दलित पत्रकार संघ नेपालले पत्रकार सुरेश भुलको हत्यासम्बन्धी घटनाको यथाशीघ्र छानबिन गरेर दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने माग गरेको छ। संघले आज विज्ञप्ति जारी गर्दै दोषीलाई कानुनअनुसार कारबाही गरी पीडित परिवारलाई न्याय र क्षतिपूर्ति दिनुपर्ने माग गरेको हो।
संघले कुटपिट गरी हत्यामा संलग्न स्थानीय पाँच जनालाई प्रहरीले पक्राउ गरेपनि पीडित परिवारले कुटपिटमा संलग्न १० जनाको नाममा किटानी जाहेरी दिइसकेको अवस्थामा प्रहरी प्रशासनले ढिलासुस्ती नगरी घटनाको यथाशीघ्र अनुसन्धान गर्नुपर्नेमा जोड दिएको छ।
छिमेकीको बाख्रा हराएको निहुँमा आफ्नै पसलमा बसेका पत्रकार भुललाई यही कात्तिक २४ को बेलुका स्थानीयले कुटपिट गर्दा उनको निधन भएको संघले जनाएको छ। उपचारका क्रममा निधन भएका भुलको शव परीक्षण रिपोर्टले टाउको र कलेजोमा गहिरो चोट देखाएको छ।
संघले भनेको छ, 'उहाँको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक जुझारु र ऊर्जाशील निडर युवा पत्रकार गुमाएको छ भने संघले सक्रिय सदस्य गुमाएको छ।
संघले भविष्यमा यस्ता घटना समाजमा नदोहोरिने गरी रोकथामका लागि स्थानीय तह, प्रहरी प्रशासन, सरकार र सरोकार भएकाको ध्यानाकर्षणसमेत गराएको छ।
त्यसैगरी नेपाल पत्रकार महासंघले पनि बुधबार विज्ञप्ति जारी गरी पत्रकार भुलको हत्यामा संलग्नलाई यथाशीघ्र कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेको छ।
कात्तिक २९, २०८१ बिहीबार २२:०५:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।