पहिलोपटक विश्वकपमा छनोट भएको यु-१९ नेपाली महिला क्रिकेट टोलीलाई भव्य स्वागत

पहिलोपटक विश्वकपमा छनोट भएको यु-१९ नेपाली महिला क्रिकेट टोलीलाई भव्य स्वागत

काठमाडौं : यु-१९ महिला विश्वकप र एसिया कपमा स्थान बनाएको नेपाली महिला टोलीलाई आज स्वागत गरिएको छ। 
    
नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टङ्कलाल घिसिङ, नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्कालगायतका पदाधिकारीहरू र खेल समर्थकहरूले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरे।  
राखेपका सदस्य सचिव घिसिङले यु-१९ टोलीले ऐतिहासिक सफलता हासिल गरेकोमा बधाई दिए भने नेपाली टोलीका प्रशिक्षक महेशप्रसाद रिजालले महिला क्रिकेटमा स्वर्णिम युगको सुरुआत भएको बताए। 
    
नेपाली टोलीकी कप्तान पुजा महतोले टिमवर्कका कारणले नेपालले विश्वकपसम्मको यात्रा तय गर्न सफल भएको बताइन्। आजै क्यानले नेपाली खेलाडीलाई जनही दुई लाख ५० हजार पुरस्कार दिने घोषणा गरेको थियो।
    
संयुक्त अरब इमिरेट्स (युएई)को अजमानमा हिजो सकिएको खेलमा घरेलु टोली युएईमाथि आठ विकेटको जीत निकाल्दै नेपालले पहिलो पटक यु-१९ विश्वकपमा छनोट भएको थियो। 
    
नेपालले ६ खेलबाट १० अङ्क जोड्दै विश्वकपमा स्थान बनाएको हो। युएईले पनि समान खेलबाट समान १० अङ्क नै जोडे पनि नेपाल नेट रनरेटमा अगाडि रहँदै विश्वकपमा स्थान बनायो। यु-१९ विश्वकप क्रिकेट अर्को वर्ष मलेसियामा आयोजना हुँदैछ। 
    
विश्वकपका साथै नेपाल यु-१९ एसिया कपका लागि पनि छनोट भएको छ। एसिसीको आयोजनामा आगामी डिसेम्बरमा हुने यु-१९ महिला एसिया कपका लागि नेपाल छनोट भएको हो। 

यु-१९ एसियाकप क्रिकेटमा नेपालसँगै पाकिस्तान, भारत श्रीलङ्का, बङ्गलादेश र मलेसिया सहभागी हुनेछन्।  

कात्तिक २९, २०८१ बिहीबार २१:१३:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।