एनपिएलमा कर्णाली याक्सका लागि खेल्न लागेका शिखर धवनले कति पाउने छन् पारिश्रमिक?
काठमाडौं : नेपाल प्रमियर लिग (एनपिएल)का लागि कर्णाली याक्समा अनुबन्ध भएका चर्चित भारतीय खेलाडी शिखर धवनले प्रत्येक खेलबापत ३० हजार डलर पाउने भएका छन्।
कर्णाली याक्सले बिहीबार भारतीय राष्ट्रिय टिमबाट तीनै फर्म्याट क्रिकेट खेलिसकेका धवनलाई अनुबन्ध गरेको छ। उनले कर्णाली याक्सबाट चार वटा खेल खेल्ने छन्। र, प्रत्येक खेलबाट ३० हजार डलर (नेपाली ४० लाख ५० रूपैँया) लिने याक्सका लगानीकर्ता गृहेन्द्र घिमिरेले बताए।
घिमिरेका अनुसार धावन नोभेम्बर २९ तारिखमा नेपाल आउने छन्। उनले ३० तारिखको बिहान पशुपतिको दर्शन गर्नेछन्। लगत्तै दिउँसो हुने एनपिएल उद्घाटनमा सहभागी हुनेछन्।
तर, धवनले एनपिएलको पहिलो दिन कुनै खेल नखेल्ने र नेपाली फ्यानहरूसँग कुराकानी गर्ने कार्यक्रम रहेको घिमिरेले बताए।
धवनले कर्णाली याक्सबाट एनपिएल खेल्ने विषयले चर्चा पाइरहेको बेला धवन आफैंले पनि कर्णाली याक्सबाट खेल्न उत्साहित भएको बताएका छन्।
‘नमस्ते नेपाल। म कर्णाली याक्सबाट नेपाल प्रिमियर लिग खेल्न आउँदैछु। सबैजनासँग मिल्न र कुरा गर्न आउँदैछु’, धवनले भिडियो सन्देशमा भनेका छन्, ‘त्यसैले ठूलो खेलका लागि तयार हुनुस्।’
धवन डिसेम्बर ९ तारिखमा फर्कने छन्।
३८ वर्षीय बायाँ हाते ओपनरले भारतसँगै आईपीएलको दिल्ली क्यापिटल्स, मुम्बई इन्डियन्स, सनराइजर्स हैदरावाद र पञ्जाव किङ्सबाट खेलेका छन्।
धवनले गत वर्ष अन्तर्राष्ट्रिय र घरेलु क्रिकेटबाट सन्यास घोषणा गरिसकेका छन्। भारतले सन्यास घोषणाअघि कुनै पनि खेलाडीलाई अर्को देशमा खेल्न अनुमति दिँदैन।
उनी विश्व क्रिकेटकै सर्वाधिक सफल खेलाडीमा चिनिन्छन्। उनले सन् २०१६ मा हैदरावादलाई आईपीएल जिताएका थिए। त्यस्तै, भारतलाई एसीसी एसिया कपको उपाधि जिताएका छन्।
ज्ञानेन्द्र मल्ल मुख्य प्रशिक्षक रहेको कर्णाली याक्सले चौथो विदेशी खेलाडी भित्र्याउँदा आफूहरू उत्साहित बनेको घिमिरेले बताए।
यसअघि वेष्ट इन्डिजका चादविक एन्टोनिओ किर्कपाट्रिक वाल्टन, पाकिस्तानका अलराउन्डर मोहम्मद हुसैन तलात र हङकङका बाबर हायतले एनपिएल खेल्ने पक्का भइसकेको छ।
टिमको मार्की खेलाडीमा राष्ट्रिय टिमका तीव्र गतिका बलर सोमपाल कामी छन्। यस्तै, टोलीमा राष्ट्रिय टोलीबाट खेलिरहेका गुल्शन झा, देव खनाललगायत छन्।
प्रतियोगिता मंसिर १५ देखि पुस ६ सम्म हुँदैछ ।
कात्तिक २९, २०८१ बिहीबार २१:०३:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।