दुई दिनअघि एकीकृत समाजवादी त्यागेका शाहीलाई एमालेले दियो गाउँपालिका अध्यक्षको टिकट उपहार

दुई दिनअघि एकीकृत समाजवादी त्यागेका शाहीलाई एमालेले दियो गाउँपालिका अध्यक्षको टिकट उपहार

काठमाडौं : मङ्सिर १६ मा हुन लागेको स्थानीय तह उपनिर्वाचनका लागि एमालेले दैलेखको महाबु गाउँपालिका अध्यक्षको उम्मेदवार टुंगो लगाएको छ।

महाबु गाउँपालिकाको अध्यक्षमा जंगबहादुर शाहीलाई उम्मेदवार बनाउने निर्णय भएको केन्द्रीय सदस्य निरज आचार्यले जानकारी दिए। यसको औपचारिकता दिन बाँकी रहेको भएपनि नगर कमिटीबाट सर्वसम्मत एकल सिफारिस भएका शाहीलाई एमालेले टिकट दिने निश्चित जस्तै छ। 

यसअघि माधवकुमार एकीकृत समाजवादीमा रहेका शाही कात्तिक २७ मा एमाले फर्किएका हुन्। 

एकीकृत समाजवादीको केन्द्रीय सदस्य रहेका शाहीलाई गाउँपालिकाको अध्यक्षको टिकट दिने शर्तमा एमालेले पार्टीमा भित्र्याइएको हो। त्यसबेला उनलाई कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेललगायतले एमालेमा स्वागत गरेका थिए। 

एमालेबाट २०७४ सालमा महाबु गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका शाहीले २०७९ को निर्वाचनमा चुनाव हारे, त्यसबेला उनी एकीकृत समाजवादीबाट उम्मेदवार बनेका थिए। 

गाउँपालिका नेपाली कांग्रेसबाट निर्वाचित अध्यक्ष लक्ष्मण गुरूङको २०७९ माघ २७ मा निधन भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो।

महाबुको अध्यक्षमा कांग्रेसले झलकबहादुर भण्डारीलाई उम्मेदवार बनाएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले प्रकाश बुढालाई उम्मेदवार बनाएको छ। 

कात्तिक २९, २०८१ बिहीबार २०:३८:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।