पहिलोपटक विश्वकपमा छनौट भएको यु-१९ महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख ५० हजार पुरस्कारको घोषणा
काठमाडाैँ : नेपाल क्रिकेट संघ (क्यान)ले पहिलोपटक यु-१९ विश्वकपमा प्रवेश गरेको नेपाली महिला क्रिकेट टोलीका खेलाडीलाई प्रोत्साहनस्वरूप जनही दुई लाख ५० हजार रूपैयाँ पुरस्कार दिने घोषणा गरेको छ।
टिममा समावेश अफिसियलहरूलाई भने जनही एक लाख ५० हजार रूपैयाँ पुरस्कारबाट सम्मान गरिने क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिइन्।
संयुक्त अरब इमिरेट्स (युएई)को अजमानमा बुधबार सकिएको खेलमा घरेलु टोली युएईमाथि आठ विकेटको जीत निकाल्दै नेपालले पहिलोपटक यु-१९ विश्वकपमा ऐतिहासिक उपलब्धि हासिल गरेको थियो।
नेपालले ६ खेलबाट १० अङ्क जोड्दै विश्वकपमा स्थान बनाएको हो। युएईले पनि समान खेलबाट समान १० अङ्क जोडे पनि नेपाल नेट रनरेटमा अगाडि रहँदै विश्वकपमा स्थान बनाउन सफल भयो।
यु-१९ विश्वकप क्रिकेट सन् २०२५ मा मलेसियामा आयोजना हुँदैछ।
विश्वकपका साथै नेपाल यु-१९ एसिया कपका लागि पनि छनोट भएको छ। एसिसीको आयोजनामा आगामी डिसेम्बरमा हुने यु-१९ महिला एसिया कपका लागि पनि नेपाल छनोट भएको हो।
यु-१९ एसिया कप क्रिकेटमा नेपालसँगै पाकिस्तान, भारत श्रीलङ्का, बङ्गलादेश र मलेसिया सहभागी हुनेछन्।
कात्तिक २९, २०८१ बिहीबार १९:२३:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।