शेखर कोइरालाले देखे ‘सरकार निरंकुशतातिर जाने खतरा’

शेखर कोइरालाले देखे ‘सरकार निरंकुशतातिर जाने खतरा’

काठमाडौं : नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले जनताले आफूलाई अलोकतन्त्रवादी हौं भनेर प्रमाणित गर्न नसकेको अवस्थामा सरकार निरंकुशतातिर जाने बताएका छन्। 

बिहीबार मिडिया लयर्स एसोसिएसनले आयोजना गरेको ‘अभिव्यक्ति स्वतन्त्रताको कसीमा सामाजिक सञ्जाल विधेयक -२०८१’ माथिको छलफलमा सहभागी हुँदै नेता कोइरालाले नेपालका अधिकांश कानूनहरू पुनः लेखन गर्नुपर्ने बताए। 

उनले नेपालमा प्रत्येक छ-छ महिनामा सरकार परिवर्तन हुने भएका कारण सत्ता पक्ष र प्रतिपक्षको कुनै तुक नरहेको बताए। 

उनले भने, ‘यदि जनताले आफूलाई लोकतन्त्रवादी हौं भनेर प्रमाणित गर्न नसकेको अवस्थामा सरकार निरंकुशतातिरै जान्छ, त्यसमा शंका गर्नु पर्दैन। नेपालमा सत्तापक्ष र प्रतिपक्ष भनेर काम छैन जस्तो लाग्छ। किनभने प्रत्येक ६-६ महिनामा सरकार फेरिरहेको छ। विधेयकको कुरा गर्ने हो भने त पुनर्लेखन नै गर्नुपर्छ जस्तो लाग्छ।’

कानून निर्माणका क्रममा लामो समयको छलफल र अध्ययनबाट निर्माण गर्न सकिएको अवस्थामा कार्यान्वयनको पाटो बलियो हुनेमा उनको जोड थियो। 

नेता कोइरालाले संविधानको पालना गरेर कानुन बनाउनुपर्नेमा नागरिकलाई सजाय दिने किसिमले मात्रै कानुन बन्ने गरेको बताए।  

कात्तिक २९, २०८१ बिहीबार १९:०३:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।