काठमाडौँ महानगरको फोहोरमा नेपवेष्टको दादागिरीमा अङ्कुश, खुल्ला प्रतिस्पर्धा गर्न बालेनको बाटो खुल्यो

काठमाडौँ महानगरको फोहोरमा नेपवेष्टको दादागिरीमा अङ्कुश, खुल्ला प्रतिस्पर्धा गर्न बालेनको बाटो खुल्यो

काठमाडौँ : काठमाडौँ महानगरपालिका क्षेत्रको फोहोर सङ्कलन र व्यवस्थापनमा खुल्ला प्रतिस्पर्धा गराउने महानगरको बोलपत्र प्रक्रिया रोक्ने नेपवेष्ट प्रालीको प्रयास तत्कालका लागि असफल भएको छ।

काठमाडौँ महानगरपालिकाले महानगरलाई ६ क्षेत्रमा विभाजित गरेर फोहोर सङ्कलन गर्न टेन्डर आव्हान गरेपछि सो प्राली सो टेन्डर रोक्न माग गर्दै उच्च अदालत पाटन गएको थियो।

सरकारले १३ वर्षअगाडि परियोजना विकास सम्झौता (पीडीए) मार्फत नेपवेष्टलाई फोहोर व्यवस्थापनको जिम्मा दिए पनि उसले काम गर्न सकेको छैन।

काम नगर्दा नेप्सेम्याक लगायतकाले उपत्यकाको फोहोर सङ्कलन र शुल्क निर्धारणमा मनोमानी गर्दै आएपछि महानगरले प्रतिस्पर्धा गराउने प्रक्रिया अगाडि बढाएको थियो।

असोज २४ मा महानगरले आव्हान गरेको टेन्डरको विरुद्धमा अन्तरिम आदेश माग्दै परेको रिटमा बिहीबार संयुक्त इजलासले सुनुवाइ गर्दै अन्तरिम आदेश जारी गरेन।

फोहोर मैला व्यवस्थापन गर्न स्थानीय सरकारलाई विभिन्न कानुनहरूले अनुमति दिएको र रिट कर्ताले रिटमा उठाएको विषय अन्तिम किराना हुँदा निरुपण हुने भन्दै अन्तरिम आदेश जारी गर्न अस्वीकार गर्यो। यसले महानगरलाई फोहोर मैला व्यवस्थापनका लागि गरेको टेन्डर प्रक्रिया अगाडि बढाउन कानुनी बाटो खुलेको छ।

मेयरमा निर्वाचित भएपछि बालेन शाहले काठमाडौँको फोहोर व्यवस्थापनको स्थायी समाधान नगरेसम्म खादा र माला नलगाउने घोषणा गरेका थिए।

कात्तिक २९, २०८१ बिहीबार १८:५६:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।