तीन दिन लगाएर बयान सक्काएका रविले आरोपहरू ठाडै अस्वीकार गरे, बयानमा भने ‘सबै दोष जीबी राईको’
बुटवल : बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा बयानका लागि रूपन्देही ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको बयान सकिएको छ।
कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई बयानका लागि मंगलबार बिहान बुद्ध एयरबाट रूपन्देहीमा ल्याइएको थियो। तीन दिनसम्म सरकारी वकिलको कार्यालयमा उनको बयान भयो। उनले बयानमा आफूमाथि लागेको आरोपहरू पूरा अस्वीकार गरेका छन्।
बयानमा रविले सुप्रिम सहकारीको रकम गोरखा मिडिया प्रालि अन्तर्गतको ग्यालेक्सी टेलिभिजनमा आएको विषयमा गितेन्द्रबाबु राई (जीबी) र सागर केसीलाई थाहा भएको र आफूलाई त्यसबारे थाहा नभएको बताएको अनुसन्धानमा खटिएका एक अधिकृतले बताए।
ती अधिकृतका अनुसार रोशनी गुरूङको नामबाट जम्मा भएको रकमबारे उनले आफूलाई केही थाहा नभएको इन्कारी बयान दिएका छन्।
बिहिबार उनको लिखित बयान लिइएको थियो। ७० वटा प्रश्नको उनले लिखित बयान दिएका थिए। त्यसक्रममा उनले दोष जति सबै जीबी राईको भएको भनेका छन्।
‘सबै प्रश्नहरू ठाडै अस्वीकार गर्नुभयो। अधिकांश प्रश्नको उत्तरमा सहकारीका अध्यक्ष जीबी राईलाई थाहा होला भन्नुभयो’ ती अधिकृतले भने।
यो सँगै लामिछानेको बयान सकिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख रञ्जितसिंह राठौरले बताए।
रूपन्देही जिल्ला अदालतले बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको १४ करोड २९ लाख रूपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको कसुरमा अनुसन्धान गर्न रवि र जीबीसहित १२ जनालाई पक्राउ गर्न कात्तिक ८ मा अनुमति दिएको थियो। त्यसपछि रकम अपचलनमा संलग्न भएका र अदालतबाट पक्राउ पुर्जी जारी भएकाहरूको खोजी कार्य भइरहेको प्रहरी प्रमुख राठौरले बताए।
यही सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेको गोरखा मिडियाका सञ्चालक पूर्व डिआइजी छविलाल जोशीलाई कात्तिक ५ र ६ मा अनुसन्धान गरी पुनः पोखरा नै पठाइएको छ।
सुप्रिम सहकारीबाट जोशीको नाममा २ करोड ५० लाख र लामिछानेको नाममा १ करोड ९६ लाख रूपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको संसदीय विशेष छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ। जोशी र लामिछानेसहित जीबी राई, भूपेन्द्रबाबु राई, कुमार रम्तेल र गोर्खा मिडिया नेटवर्कका नाममा गरी सुप्रिम सहकारीबाट १४ करोड २९ लाख ३६ हजार रूपैयाँ रकम पठाइएको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ।
लामिछानेले उक्त रकम सहकारीबाट २०७७ चैत १८ मा ऋण लिएको अनुसन्धानबाट खुलेको छ। २ करोड मध्ये संस्थाले काट्ने सेवा शुल्क कटाएर लामिछानेले १ करोड ९६ लाख ऋण लगेका छन्। लामिछानेको नाममा प्रवाह गरिएको ऋणको भौचर सुप्रिम सहकारीका व्यवस्थापक सागर केसीले सदर गरेका छन्। गुल्मीको मालिका गाउँपालिका-८ घर भएका ३० वर्षीय सागर केसी अहिले फरार छन्।
केसीले भौचर सदर गरेर रोशनी गुरूङले गोर्खा मिडिया नेटवर्कको नाममा रहेको बैंक खातामा रकम जम्मा गरेको अभियोग पत्रमा उल्लेख छ। रोशनी यसअघि नै अदालतबाट धरौटीमा रिहा भएकी छन्। ऋण लैजाने क्रममा लामिछाने गोर्खा मिडिया नेटवर्कमा कार्यकारी निर्देशकका रुपमा कार्यरत थिए।
गोर्खा मिडियाकै उपाध्यक्ष जोशीको नाममा पनि २ करोड ५० लाख रूपैयाँ ऋण लिएको देखिएको छ। उनले २०७७ माघ २९ गते २ करोड ५० लाख मध्ये ५ लाख सेवा शुल्क कटाएर २ करोड ४५ लाख रुपैयाँ ऋण लिएको देखिएको छ।
लामिछाने र जोशी दुवैको नाममा गोर्खा मिडिया नेटवर्कको ग्लोबल आईएमई बैंकको खातामा रकम जम्मा भएको अनुसन्धानले देखाएको छ।
इलाका प्रहरी कार्यालयले यसअघि गरेको छानबिनमा सुप्रिम सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङ, संरक्षक जीबी राई, भूपेन्द्रबाबु राई, छविलाल जोशी, सहकारीका पूर्वसचिव दीपेश पुन, कुमार रम्तेल, सहकारीका व्यवस्थापक सागर केसी, दुर्गा पाण्डे, रोशनी गुरुङसहित २८ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालत रुपन्देहीमा मुद्दा दायर गरिएको थियो।
तीमध्ये अध्यक्ष गुरुङ पुर्पक्षका लागि कारागार चलान भएका छन्। सहकारीका पूर्वसचिव दीपेश पुनसहित ६ जना धरौटीमा छुटेका छन्। पूर्वअध्यक्ष राईसहित अन्य फरार छन्।
कात्तिक २९, २०८१ बिहीबार १८:५०:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।