प्रकाश भुजेलमाथि सवारी ज्यान मुद्दामा अनुसन्धान हुँदै, पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति
काठमाडौं : बुधबार दिउँसो झाँक्री प्रकाश भुजेलले चलाएको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको घटनामा प्रहरीले उनीमाथि अनुसन्धान गर्नका लागि ५ दिन हिरासतमा राख्न अनुमति पाएको छ।
जिल्ला अदालत काठमाडौंले भुजेललाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए।
भुजेलविरुद्ध सवारी ज्यान मुद्दामा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
भुजेलले चलाएको बा १९ च २६९५ नम्बरको गाडीले शंखरापुर नगरपालिका वडा नम्बर -९ इन्द्रायणीमा एउटा मोटरसाइकललाई ठक्कर दिएको थियो। त्यसक्रममा घाइते भएका मोटरसाइकलका चालक कागेश्वरी मनोहरा नगरपालिका-२ घर भएका नारायण नगरकोटीले मृत्यु भएको थियो।
सिन्धुपाल्चोक घर भएर जोरपाटी बस्ने ३५ वर्षीय झाँक्री भुजेल दुर्घटनापछि बुधबारै फरार भएका थिए। त्यसपछि प्रहरीले समात्यो। अहिले प्रहरी वृत्त बौद्धमा राखेर उनीमाथि अनुसन्धान गरिरहेको छ।
दुर्घटनाकै दिन भुजेलको साथमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) नभेटिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो।
सुरूमा प्रहरीसँग झाँक्री भुजेलले लाइसेन्स घरमै छुटेको भनेका थिए। त्यसपछि प्रहरीले घरबाट लाइसेन्स मगाउदा पनि झाँक्रीले प्रहरीसामु लाइसेन्स पेश गर्न सकेका छैनन्। लाइसेन्स नलिई सवारी चलाएकै कारण उनीमाथि हत्यामा अनुसन्धान भइरहेको छ।
दुर्घटनामा मोटरसाइकलमा पछाडि बसेकी नगरकोटीकी पत्नी ३२ वर्षीया सानुमाया नगरकोटी गम्भीर घाइते छन्। उनको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ।
कात्तिक २९, २०८१ बिहीबार १८:१५:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।