मुलुकमा कसैले नगरेको काम हामीले गर्यौँ, गणतन्त्र पनि हाम्रै कारण आयो : माधव नेपाल

मुलुकमा कसैले नगरेको काम हामीले गर्यौँ, गणतन्त्र पनि हाम्रै कारण आयो : माधव नेपाल

काठमाडौं : एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकमा कसैले काम गरेको भए आफूहरूले नै गरेको दाबी गरेका छन्। 

बिहीबार नेपाल नेवा राष्ट्रिय संघको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले मुलुकमा परिवर्तन पनि आफूहरूले नै गरेको बताए। 

उनले भने, ‘हामीले नगरेको  होइन, गरेका छौं। काम नगएकाहरु सँग हामीलाई एउटै लाइनमा राख्न मिल्दैन। हामीले गर्वका साथ भन्न सक्नुपर्छ। यो मुलुकमा कसैले काम गरेको छ भने त्यो हामीले गरेका छौं। परिवर्तन कसैले गरेको छ भने त्यो हामीले गरेका हौं।’

उनले देशमा गणतन्त्र पनि आफूहरूले नै ल्याएको दाबी गरे। 

‘गणतन्त्र कसैले ल्याएको छ भने त्यो हामीले ल्याएका छौं। गणतन्त्र आउँदैन नेपालमा भन्नेहरू यहीँ पार्टीभित्र थिए। गीत गाएर मात्र हिँडेका होइनन् विरोध गरेर हिँडेका थिए। उत्साह बढाउने होइन उल्साह घटाउने काम गरिरहेका थिए। हामीले टेरेनौं, वास्ता गरेनौं र राजतन्त्रको बारेमा अरू पार्टीले पनि मतलब गरेनन्,’ उनले थपे। 

उनले देशको मूल समस्या सरकारको अस्थिरता नभएको बताए। आफूहरू ९ महिना सरकारमा रहँदा उदाहरण पेश गरेको भन्दै सो अवधिमा गफ नभइ काम गरेर देखाएको उनको जिकिर छ।

उनले भने, ‘हाम्रो देशको समस्याको मूल कारण के हो, त्यहाँबाट जानुपर्छ। मुल कारण भनेको सरकारको अस्थिरता होइन। ९ महिना हामी सरकारमा हुँदाखेरी उदाहरण पेश गरेका छौं। गफ होइन, काम गरेर देखाएका छौं, नौ महिनाभित्र सारा देशमा तरंग पैदा गरिदियौँ।’  

कात्तिक २९, २०८१ बिहीबार १६:४३:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।