स्वास्थ्यमा समस्या देखिएपछि निर्मला पन्त घटनाको प्रत्यक्षदर्शी बताउने अर्याललाई सिआइबीले छोड्यो
काठमाडौं : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले कञ्चनपुरस्थित महेन्द्रनगरमा १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा आफूलाई प्रत्यक्षदर्शी बताउने गोरखाका नवराज अर्याललाई सोधपुछपछि छाडेको छ।
अर्यालले सोमबार प्राइम टाइम टेलिभिजनका सञ्चालक ऋषि धमलासँग ‘जनता जान्न चाहन्छन् ’ भन्ने कार्यक्रममा अन्तर्वार्ता दिँदै निर्मलाका हत्यारालाई कानुनी कठघरामा ल्याउनुपर्ने र आफ्नो सुरक्षाको ग्यारेन्टी गरे बलात्कारका आरोपीबारे सूचना दिने भनेका थिए। उनले तीन जनाको समूहले निर्मलाको बलात्कार गरेको दाबी गरेका थिए।
त्यसपछि मंगलबार सिआइबीले उनीसँग ३/४ घण्टा सोधपुछ गरेको थियो। तर, उनले भनेअनुसार कुनै पनि घटनाको विवरण नमिलेको एसपी बोगटीले बताए।
मंगलबार ३ घण्टाभन्दा बढी सोधपुछ गरेर छाडेपछि अर्याललाई बुधबार पनि उपस्थित हुन भनिएको थियो तर, उनी उपस्थित नभएपछि सिआइबीले पक्राउ गरेको थियो।
पक्राउपछि सिआइबीले अर्याललाई नियन्त्रणमा लिएर सोधपुछ गरी बिहीबार राति नै छाडेको सिआइबी प्रवक्ता एसपी होबिन्द्र बोगटीले जानकारी दिए।
‘उनको स्वास्थ्यमा समस्या रहेकाले हामीले छाडेका हौं, बोलाएको बेला र आवश्यक परेको बेलामा हाजिर हुने शर्तमा छाडेका हौं,’ बोगटीले भने।
सिआइबीले अर्यालसँग अन्तर्वार्ता लिएका पत्रकार ऋषि धमलासँग बुधबार सोधपुछ गरेको थियो। त्यसक्रममा धमलाले अन्तर्वार्तामा त्रुटि भएको स्वीकार गर्दै करेक्सन गर्ने प्रतिबद्धता जनाएपछि उनलाई त्यसैबेला छाडिएको थियो।
कञ्चनपुर भीमदत्त नगरपालिका-२ की १३ वर्षीय किशोरी निर्मला पन्त २०७५ साउन ११ मा उखुबारीमा मृत भेटिएकी थिइन्। उनी १० साउनमा गृहकार्य गर्न भन्दै साथीको घर गएका बेला हराएकी थिइन्। उनको बलात्कारपछि हत्या भएको पुष्टी भए पनि घटनामा संलग्न अझै पक्राउ परेका छैनन्।
कात्तिक २९, २०८१ बिहीबार १६:०९:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।