स्वास्थ्यमन्त्री पौडेलले गर्दैछन् सातै प्रदेशमा फिस्टुला रोगको नि:शुल्क उपचारको तयारी
काठमाडौं : स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सातै प्रदेशमा फिस्टुला रोगको नि:शुल्क उपचार गर्ने व्यवस्थाको लागि पहल गरिरहेको बताएका छन्।
बिहीबार काठमाडौंमा आयोजित एकद्धार संकट व्यवस्थापन केन्द्रको प्रथम राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले, पापी भएको कारण फिस्टुला रोग लाग्छ भन्ने अमानवीय परम्परागत मान्यता रहेको गुनासो गरे।
फिस्टुला रोग जस्ता धेरै समस्यालाई अहिलेसम्म कानुनले पनि नदेखेको भन्दै यस्तो विषयमा व्यवस्थित ढंगले काम गर्न जरुरी रहेको उनको भनाई छ।
उनले भने, ‘फिस्टुलाको समस्या भएको महिलाहरू हुनुहुन्छ। उहाँहरूको पिसाब कन्ट्रोल हुँदैन। जन्मने बेला बच्चा लामो समय अड्किएपछि त्यो समस्या हुन्छ। तर, परम्परागत मान्यता पापी भएको कारण यस्तो हुन्छ भन्ने रहेछ। घरभन्दा धेरै पर कटेरो बनाएर राखिँदो रहेछ। यो भन्दा अमानवीयता अरू केही हुन सक्छ? त्यसैले सात वटा प्रदेशमा नै उपचार नि:शुल्क हुने व्यवस्थाको लागि पहल गर्दैछौं।’
उनले महिला अधिकारको सन्दर्भमा भारत र अमेरिका लगायतका देशमा भन्दा नेपालको प्रतिनिधिसभामा समावेशीता रहेको बताए। सबै किसिमबाट समावेशीतालाई सुनिश्चित गर्ने बाध्यकारी व्यवस्था बनाइएको भएतापनि समावेशीता अनुभूतिमा बद्लिन नसकेको उनको गुनासो छ।
उनले भने, ‘महिला अधिकारको सन्दर्भमा नेपाल यस्तो देश हो, जहाँ प्रतिनिधिसभा समावेशी छ। समावेशी प्रतिनिधिसभा भारतमा पनि छैन। अमेरिकामा पनि छैन। सबै किसिमबाट समावेशीतालाई सुनिश्चित गर्ने बाध्यकारी व्यवस्था बनाइएको छ। तर, यसको बावजुत पनि समावेशीता अनुभूतिमा किन बद्लिन सकेको छैन। लैंगिक हिंसा अन्त्य हुन किन सकेको छैन।’
कात्तिक २९, २०८१ बिहीबार १५:४९:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।