'पूर्ण बहादुरको सारङ्गी'को बा-छोराको सम्बन्धको काउन्टरमा फिल्म 'ह्रस्व दीर्घ'ले ल्यायो 'आमा-छोरा'को सम्बन्धको भावुक गीत
काठमाडौँ : बाबु-छोराको सम्बन्धमा बनेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ले हलमा तहल्का मच्चाइरहेको छ। रिलिज भएको दोस्रो हप्ता पनि ३ सय बढी शो पाइरहेको छ भने अधिकांश शोहरु हाउसफूल छन्। अधिकांश दर्शकले फिल्म हेर्दा बाको सम्झना आएको भन्दै हलमै रोएका थिए।
शुक्रवारबाट हलमा फिल्म ‘ह्रस्व दीर्घ’ लाग्दैछ। प्रि बुकिङमा शुक्रवार फिल्मले एक सय बढी शो पाएको छ। नयाँ नेपाली फिल्म हलमा रिलिज भए पनि तत्काल पूर्णबहादुरको सारङ्गीको शो सङ्ख्या घट्ने लक्षण देखिएको छैन।
बा-छोराको सम्बन्धमा दर्शक भावुक भएर फिल्मलाई अकल्पनीय माया गरेको देखेपछि फिल्म ह्रस्व दीर्घले फिल्म रिलिजको दुई दिन अगाडि फिल्मलाई आमा-छोराको सम्बन्धसँग जोड्न नयाँ गीत सार्वजनिक गर्यो ‘भगवान् नै आमा’ शीर्षकको।
बाबुल गिरीले लेखेको गीत सत्यराज र बाबुलले गाएको गीतको शब्द निकै क्याची छ। भिडियो हेर्दा यो फिल्मभित्रको गीत नभई प्रमोसनका लागि बनाइएको गीत जस्तो देखिन्छ।
बुधवार सार्वजनिक गरिएको भिडियोमा बिपना थापाको मुख्य भूमिका रहेको छ। सन्तान हुर्काउन आमाले गरेको सङ्घर्ष देखाइएको छ भिडियोमा।
यो गीतले दर्शकलाई रुवाउँदै हलसम्म पूर्याउँला त?
कात्तिक २९, २०८१ बिहीबार १५:३५:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।