कीर्तिपुर नगरपालिकाको मेयरमा रास्वपाले उम्मेदवारी आह्वान गर्दा नगर सभापतिले मात्र दाबी पेश गरे
काठमाडौं : आगामी मङ्सिर १६ मा हुन लागेको स्थानीय तह उपनिर्वाचनअन्तर्गत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट कीर्तिपुर नगरपालिकाको प्रमुख पदको उम्मेदवारका लागि एक जनाले मात्र दाबी गरेका छन्।
उपनिर्वाचनका लागि रास्वपाले उम्मेदवार हुन इच्छुकका लागि कात्तिक २२ देखि २५ भित्र दाबी पेश गर्न गरेको आह्वानमा जयराम कार्कीले मात्र दाबी पेश गरे। कार्की रास्वपाका कीर्तिपुर नगर सभापति हुन्।
नगर समितिबाट एकल सिफारिस भएकाले आफ्नो उम्मेदवारी करिब पक्का भएको कार्कीले दाबी गरे। रास्वपा भने स्थानीय तह निर्वाचनमा पहिलोपटक भाग लिँदैछ।
कीर्तिपुरमा मेयर अनि एक नम्बर र चार नम्बर वडाअध्यक्षका लागि उपनिर्वाचन हुँदैछ।
मेयर पदका लागि नेपाली कांग्रेसबाट ११ जनाको नाम सिफारिस भएपनि नाम टुंगो लागेको छैन। एमालेले भने डा. सुरेन्द्र मानन्धरलाई र माओवादी केन्द्रले प्रा.डा. शिवशरण महर्जनलाई उम्मेदवार बनाएको छ।
कात्तिक २९, २०८१ बिहीबार १५:३२:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।