झाँक्री भुजेलले चलाएको गाडीको ठक्‍करबाट मोटरसाइकल चालकको ज्यान गएपछि उनको लाइसेन्स खोज्दैछ प्रहरी

झाँक्री भुजेलले चलाएको गाडीको ठक्‍करबाट मोटरसाइकल चालकको ज्यान गएपछि उनको लाइसेन्स खोज्दैछ प्रहरी

काठमाडौं : बुधबार दिउँसो झाँक्री प्रकाश भुजेलले चलाएको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएपछि प्रहरीले चालक भुजेलको सवारी चालक अनुमति पत्र (लाइसेन्स)माथि अनुसन्धान अघि बढाएको छ।  

दुर्घटनापछि बुधबारै जोरपाटी क्षेत्रबाट पक्राउ परेका भुजेलको साथमा लाइसेन्स नभेटिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको हो। झाँक्री अहिले प्रहरी वृत्त बौद्धको हिरासतमा छन्।

सुरूमा प्रहरीसँग झाँक्री भुजेलले लाइसेन्स घरमै छुटेको भनेका थिए। त्यसपछि प्रहरीले घरबाट लाइसेन्स मगाएर थप अनुसन्धान अघि बढाएको छ।

तर, झाँक्रीले प्रहरीसामु अहिलेसम्म लाइसेन्स पेश गर्न सकेका छैनन्। उनले लाइसेन्स नलिई सवारी चलाएको हकमा उनीमाथि हत्यामा अनुसन्धान हुनेछ। लाइसेन्स भएको हकमा दुर्घटनाको कारणमा उनको लापर्वाही देखिए सवारी ज्यानमा अनुसन्धान हुनेछ।

भुजेलले चलाएको बा १९ च २६९५ नम्बरको गाडीले शंखरापुर नगरपालिका वडा नम्बर -९ इन्द्रायणीमा एउटा मोटरसाइकललाई ठक्कर दिएको थियो। त्यसक्रममा घाइते भएका मोटरसाइकलका चालक कागेश्वरी मनोहरा नगरपालिका-२ घर भएका नारायण नगरकोटीले मृत्यु भएको थियो। 

मोटरसाइकलमा पछाडि बसेकी नगरकोटीकी पत्नी ३२ वर्षीया सानुमाया नगरकोटी गम्भीर घाइते छन्। उनको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ।  

कात्तिक २९, २०८१ बिहीबार १५:१२:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।