धितोपत्रमा ८ दलाल थपिए, जम्मा संख्या ९० पुग्यो

धितोपत्रमा ८ दलाल थपिए, जम्मा संख्या ९० पुग्यो

काठमाडौं : धितोपत्रको दोस्रो बजारमा कारोबारका लागि अनुमति पाउने दलाल कम्पनी (ब्रोकर)को सङ्ख्या ९० पुगेको छ। गत आर्थिक वर्ष २०८०/८१ का लागि ८२ वटा दलाल कम्पनीले अनुमति पाएकोमा हाल थप आठ वटा कम्पनी थपिए।

धितोपत्रको खरिद तथा बिक्री गर्न गत असोज मसान्तसम्ममा ९० वटा सदस्य दलाल कम्पनीले अनुमति पाएको नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)ले जनाएको छ।

नेप्सेका अनुसार धितोपत्र व्यापारी (स्टक डिलर)को रूपमा चालु आर्थिक वर्षका लागि दुईवटा कम्पनीको सदस्यता नवीकरण गरिएको छ। स्टक डिलरका रूपमा नागरिक स्टक डिलर कम्पनी लिमिटेड र नबिल स्टक डिलर लिमिटेडले अनुमति पाएका छन्।

हालसम्म दर्ता भएकामध्ये दुई कम्पनीले पूर्ण कार्य गर्ने धितोपत्र दलालका रूपमा अनुमति पाएका छन् भने बाँकी ८८ वटाले सीमित कार्य गर्न अनुमति पाएका छन्। 

पूर्ण कार्य गर्ने धितोपत्र दलालका रूपमा एनआईएमबी स्टक मार्केट्स लिमिटेड र हिमालयन सेक्युरिटिज लिमिटेड रहेको नेप्सेले जनाएको छ। 

कात्तिक २८, २०८१ बिहीबार १४:४९:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।