९९ वर्षीय पूर्व ब्रिटिस आर्मी डिल्लीसिंहका हिजोको कुरा : नौ वर्षकै उमेरमा बिहे, भर्ती हुँदा साथी मारिएपछि लड्न जानै दिएन
खोटाङमा जन्मिएका डिल्लीसिंह कोइराला उमेरले एक सय वर्ष टेक्नै लागे। पेशाले उनी फौजी। ब्रिटिस आर्मी र भारतीय प्रहरीमा उनले जागिर गरे। आफूले औपचारिक शिक्षा लिन नपाए पनि गाउँमै सामान्य कखरा जाने। पढ्ने रहरले उनलाई गाउँबाट बेसी हुँदै भारतसम्म पुर्यायो।
नौ वर्षको उमेरमा विवाह गरेका डिल्लीसिंह पढ्नकै लागि भनेर भारतको बनारस गए। त्यहाँ पढ्नका लागि भिक्षा माग्न जानुपर्ने नियम थियो। भिक्षमा माग्न जान भने उनलाई मन लागेनछ। त्यसैले उनले पढ्न पाएनन्। त्यसको केही समयपछि उनी ब्रिटिस आर्मीमा भर्ती भए। त्यतिबेला उनले पाँच रूपैयाँ भारु पाउँथे।
एक वर्षपछि हवल्दार हुँदा उनको तलब बढेर सात रूपैयाँ पुग्यो। सात वर्ष काम गरेपछि उनको समूहलाई ब्रिटिस आर्मीले निकालिदियो। त्यसपछि उनी आफूले कमाएको पैसा लिएर खोटाङ नै फर्किए। केही समय गाउँ बसेपछि पुनः भारत फर्किएका उनले त्यहाँ भारतीय प्रहरीमा भर्ति भए। त्यतिबेला उनको तलब ७५ रूपैयाँ थियो।
भारतीय प्रहरीमा उनले जम्मा तीन वर्ष काम गरेपछि उनी पुनः स्वदेश नै फर्किए। विसं. २००७ सालमा नेपाली कांग्रेस र तत्कालीन सरकारबीच भएको गृहयुद्धमा उनले कांग्रेसको तर्फबाट लडेका थिए।
देशमा प्रजातन्त्र बहालीपछि उनले देशमै बसे। पञ्चायत कालमा गाउँ पञ्चायत समेत चुनिएका ९९ वर्षीय कोइरालाले आफ्ना भोगाइ र अनुभव उकेराको नियमित कोलम ‘हिजोका कुरा’मा यसरी सम्झिएका छन्ः
बासको पट्यासमा लेखिन्थ्यो
खोटाङको खोटा गाउँमा वि.सं. १९८२ जेठ ६ गते जन्मिएको हुँ म। त्यतिबेला पढ्नका लागि स्कुल थिएनन्। गाउँमा स्कुल नभए पनि एक जना पोखरेल बाहुन थिए। उनैले मलाई कख लेख्न सिकाए। कख पढेपछि मलाई लेख्न पनि मन लाग्यो।
अहिलेको कलम र कापी थिएन। सिमीका पात, तीतेपाती कुटेर हाँडीमा हालेर पकाइन्थो र त्यही झोल कचौरामा राखिन्थ्यो। त्यहि झोलले लेख्नुपथ्र्यो। बाँसको पट्यास (खबटो)को झुस फालेर त्यसैमा पनि लेखिन्थ्यो। म पढ्न थालेपछि बुवाले मलाई व्यङ्ग गर्नुहुन्थ्यो, ‘अब पढेर तँ पण्डित हुन्छस् होला, पाडा बाख्रा भोकले मर्न लागे। घाँस काटेर लिएर आइज।’
दाजुहरू बिहे गरेर छुट्टिसकेकाले घरमा काम गर्नसक्ने कोही थिएन। हामी दुई गुँड (आमा दुईटी)का सन्तान हौँ। म कान्छी पट्टिको छोरो हो। जेठी आमातिर आठ भाइ जन्मिएका थिए रे। खै के भएर हो, ठूलीआमा सहित तीन दिनका दिन चार जना खस्नुभएछ। तीन भाइ छोरा र दुईटी दिदी बाँच्नुभएछ। यता कान्छीपट्टी हामी छ भाइ जन्मियौँ। दुई दिदी र एक दाइपछिको म हो। सबैले मलाई माइलो भन्थेँ।
नौ वर्षमै बिहे
१९९० सालमा म नौ वर्षको भएँ। त्यतिबेला सानै उमेरमा बिहे गर्दिने चलन थियो। बुबाहरूले मेरो पनि नौ वर्षको उमेरमा नै बिहे गर्दिनुभयो। अलिअलि पढ्दै थिएँ। त्यही बेलामा मेरो बिहे भयो। त्यो बेला बिहे भएको ५/७ वर्षपछि मात्रै मैतालु (श्रीमती) ल्याउँथे। सानैमा बिहे गर्दा म बेहुला भन्ने खासै अनुभव नै भएन। म अब पढ्नका लागि बनारस जान्छु भन्ने सोच आयो। तर पैसा थिएन।
एक दिन बुवाले १४ रूपैयाँमा भैंसी बेचे। त्यो पैसा राखेको ठाउँ पत्ता लगाएर सात रूपैयाँ चोरेर बनारस भागेँ। अहिलेको जस्तो गाडी, मोटर थिएन। गाउँका मान्छेहरू बनारस जादा आउँदाका कुरा सुनाउँथे। जोगबनी पुगेपछि बनारस जाने रेल चढेँ। त्यहाँ पुग्दा मसँग भएको सात रूपैयाँमध्ये जम्मा तीन रूपैयाँ मात्र सकियो।
बाँकी ४ रूपैयाँ साथैमा छ। बनारसमा बाहुनलाई मात्रै पढ्न दिन्थेँ। म त क्षेत्री कोइराला हो। त्यहाँ पुगेपछि म बाहुन हो भनेर ढाँटेर पढ्न थाले। यो १९९४/९५ सालतिरको कुरा हो। पढ्न थालेको केहि दिनमा गुरुहरूले भिक्षा माग्न जाउ भनेर अर्हाए। पढ्न मात्र होइन भिक्षा पनि माग्न जानुपर्दो रहेछ। मलाई त्यसै मन मरेर आयो। त्यसपछि ‘यत्रो पनि पढ्दिन’ भनेर ब्रिटिस आर्मीमा भर्ती हुन गएँ।
ब्रिटिस आर्मीको तलब पाँच रूपैयाँ
बनारसबाट भागेर सोध्दै सोध्दै देहरादुन पुगेँ। त्यहाँ नेपालीहरूलाई ब्रिटिस आर्मीमा भर्ना लिएको थाहा पाएँ। आफ्नो साथमा भएको चार रूपैयाँमा एक रूपैयाँ सक्किगो। त्यहाँ पुगेपछि राई, लिम्बू, क्षेत्री बाहुनलाई फरक-फरक टिममा ब्रिटिसले भर्ना लिएको थियो। सिभिल गोर्खामा मगर, भुजेल पल्टन थियो। ठाट गोर्खामा राई लिम्बू पल्टन थियो। नाइन्जरमा क्षेत्री बाहुन थिए। म नाइन्जर पल्टनमा भर्ती भए।
त्यतिबेला सिपाहीको तलब ५ रूपैया थियो। दुई वर्षपछि मलाई पनि हवल्दार बनाए। हवल्दार भएपछि तलब सात रूपैयाँ भयो। नाम लेख्न नजानेकालाई तलब दिदैनथ्यो। नाम लेख्न जान्नुपर्छ भन्थ्यो एउटा हवल्दारले। पछि त्यही हवल्दारले ल्याप्चे सही गर्दो रैछ। हामीलाई चाही नाम लेख्न नजाने तलब पाइदैन भन्थ्यो। अनि मलाई त्यो हवल्दारले नाम लेख्न जान्छस् भनेर सोध्यो।
मैले जान्छु भनेर नाम लेखेँ। त्यो पनि नेपालीमै। जानेको त्यही मात्र थियो। उसले हुँदैन अंग्रेजीमा लेख् भन्यो। मलाई आउँदैनथ्यो। त्यसपछि बजारमा अंग्रेजीको किताब खोजेर ल्याएर नाम लेख्न सिक्न थालेँ। १८ दिनमा त जानिहालेँ नि!
पढ्न पनि सिपाहीलाई कहाँ सजिलो थियो र? राती चेकिङ आउँथ्यो बिस्तारामा छ कि छैन, कता गयो भनेर। म के गर्थे भने बाहिर एउटा बत्ती बल्थ्यो। ९ बजेपछि बिस्तारामा लुगालाई मान्छे सुते जस्तो बनाएर त्यो बत्ती बलेको ठाउँमा पुगेर पढ्न थाल्थे। नत्र पढ्ने समय नै हुँदैनथ्यो।
मैले अंग्रेजीमा नाम लेख्न जानेपछि मेरो बिस्तारा पनि अलिक वर सारियो। सिपाहीबाट हवल्दार पनि भए। मेरो बुट पालिस गर्दिने सिपाही पनि राखिदिए। अब मेरो काम त्यहाँ भएका सिपाहीहरूको नाम लेखिदिने भयो। हवल्दार भएपछि सुविधा सँगै तलब पनि दुई रूपैयाँ बढ्यो।
तर पैसा हातमा दिँदैनथे। रेलको टिकट जस्तो थियो। हाम्रो नौ गोर्खाको चाहिँ रातो मसीले लेखेको हुन्थ्यो। सेकेण्ड गोर्खाको हरियो मसीले लेखेको हुन्थ्यो। त्यो टिकट आर्मीकै पसलबाहेक अन्त चल्दैनथ्यो।
लडाइँमा जान्छु भन्दा पनि दिएनन्
मेरो साथी घले लडाइँमा गाको थियो, उतै बित्यो। म पनि जान्छु भनेको तर दिएनन्। नयाँ भर्ती भएकाहरूलाई तालिम सिकाउँदै बस्न लगाए। जापानसँगको लडाइँ सकिएपछि त ‘चाहियो भने हामी खोज्छौँ, अहिले घर जाओ’ भनेर पठाइदियो। म भर्ती भएको सात वर्ष मात्र भएको थियो। सात वर्षमा मेरो १३ सय जम्मा भएको रहेछ। त्यही पैसा बोकेर घर फर्किए।
अझै मलाई नोकरी गर्न मन थियो पाइएन। घर आएपछि पनि मलाई बस्न मन लागेन। घरबाट फेरि भागेर कोलकत्ता पुगे। त्यतिबेला हिन्दु मुसलमानको लडाइँ पनि थियो। त्यही बेलामा भारतीय प्रहरीमा भर्ती भएँ। ब्रिटिस आर्मीमा म १९९८ सालतिर भर्ना भएको हो। सय साल लागेको थिएन।
ब्रिटिस आर्मीमा सात रूपैयाँ तलब खाइरहेको म भारतीय प्रहरीमा हवल्दार पोष्ट नै पाए। तलब ७५ रूपैयाँ थियो। म भारतीय प्रहरीमा जागिर खाइरहेको बेलामा ब्रिटिसले फेरि मलाई गाउँमा खोज्न पठाएछ। मलाई चिठी पनि आयो। तर म गइनँ।
घर आउने बितिक्कै कांग्रेसीले बन्दुक बोकाए
भारतीय प्रहरीमा तीन वर्ष जागिर गरेर घर मात्र के आइपुगेको थिएँ, केही मान्छेहरू आएर ‘लु खेल्न जानेको मान्छे कांग्रेसमा लाग्नुपर्छ’ भने। सरकारसँगको लडाइँमा लड्नका लागि मलाई भरुवा बन्दुक दिए। त्यो बन्दुक बोकेर लडाइँमा गए, त्यो भरुवा बन्दुकको अर्थ न बर्थ। एकै पटक ११ राउण्ड हान्ने मार्का थ्री बन्दुक चलाउन सिकेको मैले। भुटुटु जान्थ्यो।
भरुवा बन्दुक पट्काउन सिकेको पनि थिएन। बन्दुक बोकेर घुर्मी हुँदै २ नम्बर रामेछाप पुगेको थियौ। लौ अब सरकारसँगको लडाइँ साम्य भयो भन्ने खबर आयो। लडाइँ सकियो भनेपछि त्यो भरुवा बन्दुक पार्टीकै वरिष्ठ मान्छेहरूलाई बुझाएर घर आएँ। घर आएको केही महिनापछि भूमिसुधार आयो।
रमाइलो के भयो भने भूमि सुधारका कर्मचारी सबै पढेका। मैले के गरेँ भने आफ्नो बुबा, ठुल्दाजु, कान्छा दाजु लगायत मेरो आफन्तको नामका फारम भरेर अफिसमा बुझाएँ। स्कुलमा गएर पढेकाहरूको लेखाइ मिलेनछ। भूमि सुधारका मान्छेहरूले लिएनन्। मैले लेखेको चाहिँ मिलेछ, त्यसैले लिए। अनि मलाई नै उनीहरू सबैको फारम भर्न लगाए। त्यतिबेला मैले ८ सय ९५ जनाको फारम भरिदिएको छु। एउटा फारम भरेको १ रूपैयाँका दरले पाइयो।
छोरी जन्मिए भाग्यमानी मान्नु
पहिली श्रीमती तर्फबाट केटाकेटी भएनन्। पछि फेरि दोस्रो विवाह गरेँ। उनको तर्फबाट एउटा छोरो जन्मियो। मलाई त्यतिबेला हात हेर्नेले के भनेका थिए भने पहिलो छोरी जन्मिई भने अति भाग्यमानी भन्नुँ। छोरो जन्मियो भने म जतिको अभागी कोही छैन भनेर बुझ्नु।
आफूलाई चाहिएको थियो छोरो, ज्योतिषले भन्छ छोरी। नभन्दै छोरो जन्मियो। तर के गर्नु छोरो जन्मिएको वर्ष दिनमा आमा बितिहाली। छोरो जन्मियो पाल्छ होला भनेर हुर्काउन मरिमेटेँ, पढाउन उस्तै जोड गरेँ पढेन।
छोरोले स्कुल खोलेपछि पढ्छ कि भनेर खोटाङ गाउँमै बालदय नाम राखेर स्कुल नै खोले। मैले ३ कक्षासम्म आफैँ पढाउन थाले। यति गर्दा नी छोरोले पढ्दै पढेन। अन्तमा यतिकै छोरोले पनि खासै पढाइमा उन्नति गर्न सकेन।
गाउँ पञ्चायत अध्यक्ष
स्कुलमा पढाइरहेका बेला गाउँलेहरूले गाउँ पञ्चायतमा उठ्न आग्रह गरे। मैले चुनाव लडेँ। गाउँ पञ्चायतमा मलाइ नौ वडाका मान्छेहरूले भोट दिएका थिए। ३५ साल तिरको कुरा हो। चुनावमा विजयी पनि भएँ।
मसँगै हाम्रै भतिजो रेवती कोइरालाले उपप्रधान जितेको थियो। त्यतिबेला गाउँ पञ्चायतका अध्यक्षलाई तलब दिने चलन थिएन। सेवा गर्ने हो भन्थेँ। उपप्रधान जितेको भतिज शुरूमा मास्टर थियो। तलब पनि आइरहेको थियो। यता तलब नआउने दुःख मात्रै बढि हुने भएपछि मास्टरीमै लाग्यो।
मैले सानैमा पढ्न नपाएको र स्कुल नभएको हुनाले बालद्धय स्कुल खोलेको थिएँ। त्यसैमा सरकारसँग गाउँमै माविसम्मको स्कुल मागे। पाइयो पनि। अहिले खोटाङको चिसापानी भन्ने ठाउँको त्यही स्कुलमा ब्याचलरसम्म पढाइ हुन्छ।
५० हजार बुझाउन नसक्दा माओवादीले कुटे
मैले पञ्चायतमा अध्यक्ष जितेपछि कांग्रेसीहरू पनि मेरो विरोधी थिएनन्। उनीहरूले मलाई खासै दुःख दिएनन् भन्दा हुन्छ। तर मलाई माओवादीहरूले भने खेदो गरे। माओवादीहरू मात्रै मेरा बैरी भए। ५२ सालपछिको कुरा हो। मलाई माओवादीहरूले हामीसँग मिल भने। मैले नमानेपछि एक लाख चन्दा मागे। मसँग पैसा थिएन।
उनीहरूको डरका कारण पैसा जम्मा गर्न मैले घरको तीन माहु भैँसी बेचे। भैँसीहरू १६ सय, २२ सयका दरले बेचे। गोरुहरू पनि बेचे। घरमा भएका सबै जेथा बेचेपछि ५० हजार मात्रै पुग्यो। १ लाख पुर्याउन सकिन। उनीहरूले लाख नै चाहिन्छ भन्ने अड्डी छोडेनन्।
भएको ५० हजार रूपैयाँ पनि लगे। ‘तँ पैसा भेला बनाएर राख्ने, कांग्रेसमा जाने’ भन्दै कुट्नु सम्म कुटे। उनीहरूले मेरो दाहिने हात नै भाँचिदिए। मलाई मर्यो भनेर फालेका थिए। उनीहरू हिँडेपछि भाँचिएको हात लिएर अस्पताल गएँ। अस्पतालका डाक्टरहरूलाई पनि माओवादीको डर थियो। उनीहरू ‘हामी त उपचार गर्दैनौँ, अहिले माओवादी आएर मार्छन्’ भन्थे।
माओवादीका डरले मेरो भाँचिएको हातको उपचार भएन। माओवादीहरूले भेटेर मार्छन् भनेर एउटा बस्नेतले मलाई उसको घरमा लुकाएर राख्यो। त्यही बस्नेतले हातमा काम्रो बाँधेर घरभित्रै लुकाएर मेरो उपचार गरिदियो। अहिले पनि हात राम्रो उपचार नपाएर पहिलाको जस्तो छैन। मैले सुने अनुसार मलाई कुट्न आएका माओवादीहरू सबै मरे रे। कोही भिडन्तमा त कोही काल गतिमा।
कात्तिक २८, २०८१ बिहीबार १४:४२:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।