विश्वकप खेलेका खेलाडीलाई पूरा रकम भुक्तानी गर्न विश्व क्रिकेट संघको आग्रह, पाँच बोर्डले अझै दिएका छैनन् रकम
काठमाडौं : विश्व क्रिकेटर संघले संयुक्त राज्य अमेरिका र वेस्टइन्डिजमा भएको पुरुष टी२० विश्वकप क्रिकेटमा सहभागी खेलाडीहरुलाई केही क्रिकेट बोर्डले पूरा रकम नदिएको रिपोर्ट प्राप्त गरेको भन्दै चिन्ता व्यक्त गरेको छ।
विश्वकपमा सहभागी २० टिममध्ये पाँच टोलीका खेलाडीहरुलाई अझै पनि बोर्डले पूरै रकम नदिएको ईएसपीएन क्रिकइन्फोले जनाएको छ।
यस सम्बन्धमा विश्व क्रिकेटर संघका मुख्य कार्यकारी अधिकारी टम मोफेटले पूरा रकम नदिइएका खेलाडीहरुप्रति चिन्ता व्यक्त गर्दै उनीहरुको पक्षमा रहेको बताएका छन्।
साथै उनले खेलाडीलाई पूरै रकम भुक्तानी गर्नको लागि आईसीसीको चालेको कदमको प्रशंसा गर्दै रकम नदिने क्रिकेट बोर्डप्रति कडा कदम चाल्न समेत आईसीसीको ध्यानाकर्षण गराए।
यसै साता सिंगापुरमा भएको विश्व क्रिकेटर संघको वार्षिक साधारणसभा पछि संघले यस्तो वक्तव्य जारी गरेको हो। यो बैठकले ग्लोबल प्लेयर हार्डशिप फन्डको गठनको लागि समेत अनुमति दिएको छ।
आईसीसीले विश्वकप विजेता टोलीलाई मात्र नभएर सहभागी टोलीका लागि भनेर समेत रकम पठाउने गर्छ। त्यो रकम टोलीका सदस्यहरूलाई बाँड्नुपर्ने हुन्छ।
कात्तिक २९, २०८१ बिहीबार १३:०९:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।