उपनिर्वाचनमा १७ स्थानका लागि रास्वपाले टुंग्यायो उम्मेदवार

उपनिर्वाचनमा १७ स्थानका लागि रास्वपाले टुंग्यायो उम्मेदवार

काठमाडौं : मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले १७ स्थानमा उम्मेदवार टुंगो लगाएको छ।

पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार बाँकी स्थानमा उम्मेदवार टुंगिने प्रक्रियामा छ। तेह्रथुमको लालिगुराँस नगरपालिका-८ को वडाध्यक्षमा सञ्जीव खड्का उम्मेदवार बन्ने झाले बताए।

सुनसरीको गढी गाउँपालिका-६ वडाध्यक्षमा शशिकुमार साहुु, ओखलढुंगा मेलुङ गाउँपालिका-५ को वडाध्यक्षमा विष्णुप्रसाद पोख्रेल उम्मेदवार बन्ने भएका छन्।

ताप्लेजुङको जिरिजङ्घा गाउँपालिका-३ को वडाध्यक्षमा देवीप्रसाद पौडेल, उदयपुरको त्रियुगा नगरपालिका-१२ को वडाध्यक्षमा ध्रुवप्रसाद पोख्रेल र उदयपुरकै बेलका नगरपालिका-९ को वडाध्यक्षमा तेजमान विश्वकर्मा उम्मेदवार बन्ने भएका छन्।

धनुषाको धनुषाधाम नगरपालिका-१ को वडाध्यक्षमा पुरूषोत्तम यादव, महोत्तरीको रामगोपालपुर नगरपालिका-२ को वडाध्यक्षमा राजेशकुमार शर्मा उम्मेदवार बन्नेछन्।

काठमाडौं महानगरपालिका-१६ को वडाध्यक्षमा रोजिना श्रेष्ठको नाम टुंगो लागेको छ। दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा गोमा श्रेष्ठको नाम टुंगिएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।

हेटौंडा उपमहानगरपालिका-१२ को वडाध्यक्षमा आशा विरवल उठ्ने भएका छन्।

गुल्मीको मुसिकोट नगरपालिका-१ को वडाध्यक्षमा विकास थापा, दैलेखको महाबु गाउँपालिकाको उपाध्यक्षमा प्रकाशबहादुर बुढा, दुल्लु नगरपालिका-१३ को वडाध्यक्षमा रामबहादुर शाही उम्मेदवार बन्ने भएका छन्।

यस्तै, जाजरकोटको नलगाड नगपालिकाको उपप्रमुखमा पार्वती पुन, हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्षमा सुजाता फडेरा (थापा) र कञ्चनपुर भीमदत्त नगरपालिका-६ को वडाध्यक्षमा रामदत्त भट्ट उम्मेदवार बन्ने भएका छन्।

मंसिर १६ गते ४४ स्थानीय तहका विभिन्न रिक्त स्थानमा उपचुनाव हुँदैछ। स्थानीय तह निर्वाचनमा रास्वपा पहिलो पटक सहभागी हुन लागेको हो। २०७९ सालको स्थानीय तह निर्वाचन हुँदा रास्वपा गठन भएको थिएन।

रास्वपाले उम्मेदवारी दर्ताको मनोनय पत्रमा हस्ताक्षर गर्ने जिम्मा कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीलाई दिएको छ।

कात्तिक २९, २०८१ बिहीबार १०:४८:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।