बक्यौता नतिर्ने उद्योगीलाई विद्यु्त् प्राधिकरणको चेतावनी- मंसिर १२ गतेभित्र महसुल नबुझाए फेरि लाइन काटिन्छ
काठमाडौं : नेपाल विद्युत् प्राधिकरणको डेडिकेटेड फिडर तथा ट्रंक लाइनबाट विद्युत् आपूर्ति लिएका उद्योगहरूले बक्यौता महसुल १५ दिनभित्र अर्थात मंसिर १२ सम्ममा नबुझाए फेरि बिजुलीको लाइन काट्ने चेतावनी दिएको छ।
बिहीबार गोरखापत्रमा सूचना प्रकाशित गर्दै प्राधिकरणले बक्यौता महसुल १५ दिनभित्र नबुझाए फेरि लाइन काट्ने चेतावनी दिएको हो।
सूचनामा प्राधिकरणले उद्योगीहरूलाई १५ दिनभित्र बिजुलीको बक्यौता तिर्न भनेको छ। मंसिर १२ गतेभित्र बक्यौता महसुल नबुझाएमा नियमानुसार अघि बढ्ने प्राधिकरणले स्पष्ट पारेकाे छ।
प्राधिकरणले मन्त्रिपरिषदको कात्तिक २५ गतेको बैठकबाट र नेपाल विद्युत् प्राधिरण सञ्चालक समितिको कात्तिक २७ गतेको ९८७ औं बैठकबाट बक्यौता महसुल १५ दिनभित्र असुलउपर गर्ने निर्णय भएको स्मरण गराएको छ।
‘सोहीअनुरुप वितरण केन्द्रहरूबाट सम्बन्धित उद्योगको २०७२ माघदेखि २०७५ वैशाखसम्मको टीओडी मिटरमा रेकर्ड भएको डिमान्ड तथा टी वान, टी टू र टी थ्री टाइम इन्टरभलमा रेकर्ड भएको खपत इनर्जीको आधारमा गणना गरिएको छुट बिलअनुसार बक्यौता बुझाउन अनुराेध गरिन्छ,’ प्राधिकरणले भनेको छ।
डेटिकेटेड फिडर र ट्रंक लाइनबाट विद्युत प्रयोग गरेका उद्योगहरुले बक्यौता नतिरेको भन्दै प्राधिकरणले लाइन काटिदिएको थियो। यता कात्तिक २५ गतेको मन्त्रिपरिषद् बैठकले बिजुलीको लाइन जोडिदिने र टीओडी मिटरका आधारमा १५ दिनभित्र महसुल उठाउने निर्णय गरेको थियो।
कात्तिक २७ गते प्राधिकरण सञ्चालक समितिको बैठकले उद्योगहमा बिजुलीको लाइन जोड्ने निर्णय गरेको थियो। त्यसपछि भने प्राधिकरणले अधिकांश उद्योगमा लाइन जोडिदिएको छ।
कात्तिक २९, २०८१ बिहीबार १०:३६:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।