बाइडेनले ह्वाइट हाउसमा स्वागत गरेपछि ट्रम्पले भने- ‘राजनीति धेरै गाह्रो छ’

बाइडेनले ह्वाइट हाउसमा स्वागत गरेपछि ट्रम्पले भने- ‘राजनीति धेरै गाह्रो छ’

एजेन्सी : अमेरिकी राष्ट्रपति जो बाइडेन र निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भेटवार्ता भएको छ। गएराति ह्वाइटहाउसमा बाइडेन र ट्रम्पबीच भेटवार्ता भएको हो।

भेटवार्तामा सत्ता हस्तान्तरण र यसको प्रक्रियाको बारेमा छलफल भएको अमेरिकी अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। 

अमेरिकी राजनीतिमा निर्वाचनपछि वर्तमान राष्ट्रपति र नयाँ निर्वाचित राष्ट्रपतिबीच औपचारिक रूपमा भेट गर्ने परम्परा रहँदै आएको छ।

यस भेटमा ट्रम्प आफ्नो नयाँ टिमसहित ह्वाइटहाउस पुगेका थिए। जसमा उनले नियुक्त गरेकी चिफ अफ स्टाफ सिसे वाइल्स पनि रहेकी थिइन्।

बाइडेनले ट्रम्पलाई ह्वाइटहाउसमा स्वागत गर्दै सत्ताको सहज हस्तान्तरण हुने स्पष्ट पारे।

ट्रम्पले पनि ह्वाइटहाउसमा पुनः आउन पाउँदा खुशी लागेको उल्लेख सत्ता हस्तान्तरणको प्रक्रिया सहज रूपमा अगाडि बढिरहेकोमा सन्तोष व्यक्त गरे।

यसका अलावा उनले बाइडेनलाई धन्यवाद दिँदै भने, ‘धेरै धेरै धन्यवाद। राजनीति कठिन छ र धेरै अवस्थामा यो धेरै राम्रो पनि होइन। तर आज परिस्थिति सहज छ र म यसको कदर गर्छु। सहज शक्ति हस्तान्तरण सबै अर्थमा राम्रो हुनेछ।’

नोभेम्बर ५ को निर्वाचनमा डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिसलाई पराजित गरेपछि ट्रम्पले ह्वाइटहाउसमा शानदार कम ब्याक गरेका छन्।

अहिले उनले आफ्नो प्रशासनमा धमाधम नियुक्तिहरू गरिरहेका छन्। 

कात्तिक २९, २०८१ बिहीबार ०८:०५:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।