‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ अभियान : १६ हजार छोरीको बिमा, अनियमितता भएपछि साइकल वितरण रोकियो
जनकपुरधाम : मधेश प्रदेश सरकारले ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ अभियानअन्तर्गत अहिलेसम्म १५ हजार नौ सय ५३ छोरीको बिमा गरेको छ।
मधेश सरकारको गौरवको आयोजनाअन्तर्गत महिला सशक्तीकरण तथा सामाजिक सुदृढीकरणको लोकप्रिय कार्यक्रमअन्तर्गत गरेको बिमाबापत ५९ करोड ७५ लाख खर्च भएको शिक्षा विकास निर्देशनालयले जनाएको छ।
आर्थिक, शैक्षिक तथा सामाजिक रुपमा पछाडि परेका छोरीहरूको उत्थान तथा महिला सशक्तीकरणका लागि बिमा गरिएको निर्देशनालयका सूचना अधिकारी किशोरी कापरले जानकारी दिए।
त्यस अभियानअन्तर्गत साइकल वितरण, छोरी शिक्षा बिमा, छात्रामैत्री शौचालय निर्माण, लोकसेवा तयारी कक्षा, सेनिटरी प्याड वितरण तथा छात्रवृत्तिको व्यवस्था गरिएको थियो। तत्कालीन मुख्यमन्त्री लालबाबु राउतको कार्यकालमा सुरू भएको अभियानअन्तर्गत छोरी शिक्षा कार्यक्रम मात्र सञ्चालन भइरहेको छ भने अन्य कार्यक्रम प्रभावकारी नभएको गुनासो छ।
यसैगरी छोरी शिक्षा बिमा कार्यक्रमअन्तर्गत २०७८ माघ १ पछि जन्मिएका प्रत्येक बालबालिकाको २० वर्षका लागि ३७ हजार चार सय ५७ ग्लोबल आईएमई बैंकमा मुद्दती खातामा बिमा गर्ने व्यवस्था गरिएको छ। बीमित किशोरीले २० वर्षपछि तीन लाख पाउने छन्।
तर, त्यसका लागि बीमित छोरीले कक्षा १२ सम्म अध्ययन गर्नुपर्ने प्रावधान राखिएको छ। विवाह २० वर्ष अगाडि गरेमा बीमा प्राप्त गर्न नसक्ने जानकारी दिइएको छ।
मधेश प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत सञ्चालनमा रहेको कार्यक्रम अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनपछि २०७८ सालदेखि शिक्षा विकास निर्देशनालयले सञ्चालन गर्दै आएको छ। साइकल वितरणमा अनियमितता भएपछि अहिले साइकल वितरण पनि रोकिएको छ।
कात्तिक २८, २०८१ बुधबार २२:००:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।