पत्रकार महासंघले भन्यो 'पत्रकार भुलको हत्यामा संलग्नलाई तत्काल कानुनी दायरामा ल्याऊ'
काठमाडौं : नेपाल पत्रकार महासंघले पत्रकार सुरेश भुलको हत्यामा संलग्नलाई यथाशीघ्र कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेको छ। महासचिव रोशन पुरीले आज विज्ञप्ति जारी गरी भुलको कुटपिटबाट निधन भएको घटनाप्रति भत्र्सनासमेत गरेका छन्।
राष्ट्रिय दलित पत्रकार संघ, कैलालीका सहसचिवसमेत रहेका कैलालीको गौरीगङ्गा नगरपालिका-११ कान्तिपुर टोल बस्ने भुललाई यही कात्तिक २५ को साँझ ५ बजेतिर सामान्य विवादमा सोही ठाउँको एक समूहले निर्मम कुटपिट गरेको जानकारीमा आएको महासंघले जनाएको छ।
कुटपिटबाट गम्भीर घाइते सुरेशको धनगढीस्थित निसर्ग अस्पतालमा उपचारको क्रममा २६ को बिहान मृत्यु भएको हो।
'घटनाको अनुसन्धानका लागि महासंघले केन्द्रीय सचिव हेमकर्ण विकको संयोजकत्वमा मिसन टोली खटाएको छ, मिसन टोलीले आजैदेखि कार्य थालनी गरेको छ, टोलीले १५ दिनभित्र घटनाको सत्यतथ्यसहितको प्रतिवेदन पेस गर्नेछ', विज्ञप्तिमा भनिएको छ।
स्थानीय सुदूरपाटी अनलाइनमा काम गर्दै आएका भुलको सामूहिक कुटपिटबाट हत्या भएको हो।
नेपाल पत्रकार महासंघ कैलाली, दलित पत्रकार संघ, प्रेस चौतारी सुदूरपश्चिम, सूचनाको हकका लागि राष्ट्रिय महासंघ कैलालीलगायत थुप्रै संस्थाहरूले भूलको हत्यामा संलग्न दोषीलाई तत्काल कारबाहीको दायरामा ल्याउन माग गरेका छन्।
यता, जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी पदमबहादुर विष्टका अनुसार कुटपिटमा संलग्न दुई महिलासहित सात जनालाई पक्राउ गरिएको छ।
उनले गौरीगंगा-११ की ३४ वर्षीया रमा रावल, ६५ वर्षीय जंग भुल, एक १८ वर्षीय किशोर, २३ वर्षीय विशाल विक, ३० वर्षीय धर्म विकसहित सात जनालाई पक्राउ गरिएको जानकारी दिए।
कात्तिक २८, २०८१ बुधबार २०:४५:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।