स्वास्थ्य उपकरण खरिदमा भइरहेको मिलेमतोमा अख्तियारको चासो, व्यवस्थापन महाशाखा पुग्यो छड्के टोली

स्वास्थ्य उपकरण खरिदमा भइरहेको मिलेमतोमा अख्तियारको चासो, व्यवस्थापन महाशाखा पुग्यो छड्के टोली

काठमाडौँ : स्वास्थ्य उपकरण खरिदमा सार्वजनिक रूपमै अनियमितता भए पनि नदेखेझैँ गरेर बसेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँच जनाको टोली पठाएर स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखामा छड्के हान्यो।

घटना हो सोमबारको। अति गोप्य राखिएको सो छड्केबारे उकेराले बुधवार जानकारी पाएपछि यसबारे बुझ्दा अख्तियारको टोली स्वास्थ्य सेवा विभाग अन्तर्गत व्यवस्थापन महाशाखा पुगेको पुष्टि भयो।

अख्तियारको टोलीले महाशाखाले गरेको खरिदका विषयमा जानकारी लिएको व्यवस्थापन महाशाखाको आपूर्ति व्यवस्थापन शाखा (खरिद इकाई)का प्रमुख डा. सुरेन्द्र चौरासियाले उकेरालाई जानकारी दिए।

चौरासियाका अनुसार अख्तियारको टोलीले व्यवस्थापन महाशाखाले गरेको खरिदको विषयमा अख्तियारमा परेको उजुरीबारे छलफल भएको थियो।

‘उहाँहरू (अख्तियारको टोली) जुन उजुरीहरू परेको छ त्यसबारे छलफल गर्न आउनु भएको थियो,’डा. चौरासियाले उकेरासँगको कुराकानीमा भने।

अख्तियारको टोली आएकोबारे उनले व्यवस्थापन महाशाखाका कर्मचारी र अख्तियारको टोली सँगै बसेर अख्तियारमा परेका खरिद विवाद सम्बन्धी उजुरी तथा खरिदका विषयमा छलफल भएको डा. चौरासियाले बताए।

‘मसँग कुरा भयो। हामी बस्यौँ। एक-डेढ घण्टा नै बसेर कुरा गर्यौँ,’डा.चौरासियाले भने,‘उहाँहरू पाँच जना आउनु भएको थियो।’

कोभिडकालदेखि नै स्वास्थ्य मन्त्रालय अन्तर्गत व्यवस्थापन महाशाखा अन्तर्गत भएका अधिकांश खरिद विवादित छन्। लामो समयदेखि निश्चित कम्पनीलाई लाभ पुग्नेगरी महँगो दरमा स्वास्थ्य उपकरण तथा सामग्रीहरू खरिद हुने गरेकोबारे उकेराले निरन्तर प्रमाणसहित समाचार प्रकाशित गर्दै आएको छ।

टेण्डर आव्हान हुँदा नै सार्वजनिक हुने स्पेशिफिकेशन लगायतमा सिधै लक्ड गर्ने गरिए पनि अख्तियार यो पक्षमा मौन रहँदै आएको छ।

उसले सोमबार पठाएको टोलीका सदस्यहरूले आर्थिक वर्ष २०८०-८१ मा खरिद गरेका मेसिन, उपकरण तथा स्वास्थ्य सामग्रीका विषयमा परेका उजुरीबारे व्यवस्थापन महाशाखाका अन्तर्गतको खरिद इकाई प्रमुख डा. चौरासिया लगायतका कर्मचारीहरूसँग केरकार गरेर फर्किएको थियो।

स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाको आपूर्ति व्यवस्थापन शाखा (खरिद इकाई) बाट लामो समयदेखि नै मिलेमतोमा सामान खरिद हुने गरेको छ।

यसमा विभाग प्रमुख, महाशाखा प्रमुख, महाशाखाको आपूर्ति व्यवस्थापन शाखा (खरिद इकाई) प्रमुख, प्रशासन प्रमुख, लेखा प्रमुखसँगै  विभागका स्थायी बायोमेडिकल इन्जिनियर आशिस चौहान र करारमा विभाग आएकी बायोमेडिकल इन्जिनियर पद्यमा मिश्राको प्रत्यक्ष संलग्नता देखिने गरेको छ।

विभागसँगै सङ्घीय र प्रादेशिक अस्पतालहरूमा हुने अधिकांश खरिद समेत मिलेमतोमा हुने गरेको देखिन्छ। सार्वजनिक खरिद कानुनको छिद्र खोजेर मिलेमतोमा राज्य कोषको अर्बौँ रकममा अनियमितता भइरहे पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोग अनि राष्ट्रिय सतर्कता केन्द्र जस्ता निकाय भने सक्रिय देखिएका छैनन्।

सार्वजनिक खरिद अनुगमन कार्यालय हुनु र नहुनुको कुनै भिन्नता देखिंदैन स्वास्थ्य सामग्री र उपकरणको खरिद प्रक्रियामा। यो कार्यालय अनियमितता रोक्न पुरै निष्क्रिय देखिन्छ।

कात्तिक २८, २०८१ बुधबार २०:४४:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।