प्रचण्डको दाबी 'माओवादीको उकालो यात्रा सुरू भयो, फुटेर गएका साथीहरू ढिलो-चाँडो एक ठाउँमा हुन्छन्'
काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी विभाजनपछि सुरू भएको माओवादीको ओरालो यात्रा सकिएर अब उकालो लाग्न सुरू भएको बताएका छन्।
मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका नेताहरूलाई पार्टीमा स्वागत गर्दै उनले जनताले माओवादी एकताबद्ध भएको देख्न चाहेको र त्यसको वातावरण पनि बन्दै गएको बताए।
‘जनयुद्ध, शान्ति प्रक्रिया र २०६४ को संविधानसभा निर्वाचनसम्म आइपुग्दा माओवादी जनताको सबैभन्दा भरोसायोग्य र पहिलो पार्टी बनेको थियो’ अध्यक्ष प्रचण्डले भने, ‘तर विभाजनपछि सुरू भएको माओवादीको ओरालो यात्रा सकिएर अब उकालो लाग्न सुरू भएको छ, यो यात्रा रुपान्तरणसहित निरन्तर अघि बढ्ने छ।’
पार्टी एकताका विभिन्न दलगतरुपमा विभिन्न माओवादी घटकहरुसँग छलफल भइरहेको र नेता कार्यकर्ताको स्वःस्फूर्त ध्रुवीकरण पनि चलिरहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले जनयुद्धको तयारी, जनयुद्धको सञ्चालन र शान्ति प्रक्रियाको पनि मुख्य नेतृत्व हुनुको हैसियतले आफूले सबैलाई गोलबन्द गर्दै अघि बढ्ने बताए।
जनयुद्ध लडेका कयौं नेता कार्यकर्ता क्रान्ति भइहाल्छ कि भनेर बिद्रोह गरेर गएको उल्लेख गर्दै उनले भने, ‘क्रान्तिको खोजीमा निस्कनु तपाईंहरूको गलत नियत थिएन तर क्रान्ति रहरले नभई एउटा प्रक्रियाले हुने भएकाले फेरि पनि क्रान्तिकारीहरुबीच ध्रुवीकरण र एकताको विकल्प छैन। सबै साथीहरू ढिलो-चाँडो एक ठाउँमा हुने छौं।’
अहिले एकातिर माओवादी एकताको क्रम सुरू भएको र अर्कोतिर आफूले प्रधानमन्त्रीको रुपमा सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा थालेको पहलका लागि जनतामा माओवादी पार्टी र प्रचण्डप्रति विश्वास बढेको उल्लेख गर्दै उनले विभिन्न जिल्लाहरूमा जाँदा २०६४ कै झल्को आउने गरी जन आकर्षण देखिन थालेको बताए।
त्यसक्रममा क्रान्तिकारी कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य डा. थारू ‘शेरमान’, लुम्बिनी प्रदेश सदस्यहरू वीरबहादुर बिक ‘संघर्ष’, तुकलाल पुन ‘यात्री’, माया थापा, नन्दकिशोर यादव र कपिलवस्तु जिल्ला सदस्य रामप्रसाद खनाल माओवादी केन्द्रमा प्रवेश गरेका थिए।
कात्तिक २८, २०८१ बुधबार २०:२१:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।