सहकारी ठगीको औपचारिक अनुसन्धानमा तानिए कांग्रेस उपसभापति धनराज, सिआइबीको कार्यालयमा ६ घण्टा बयान

सहकारी ठगीको औपचारिक अनुसन्धानमा तानिए कांग्रेस उपसभापति धनराज, सिआइबीको कार्यालयमा ६ घण्टा बयान

काठमाडौँ : मितेरी सहकारीमा बचतकर्ताको रकम अनियमिततामा नेपाली कांग्रेस उपसभापति धनराज गुरुङ अनुसन्धानको दायरामा तानिएका छन्।

उनको पूर्व श्रीमती सहकारीको रकम अनियमिततामा संलग्न रहेको खुलेपछि फरार छिन्। प्रहरीले गुरुङलाई पक्राउ गरेको छैन। तर बुधवार सहकारीको रकम अनियमितता र उनको संलग्नताबारे प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले करिब ६ घण्टा बयान लिएको छ।

ब्यूरोस्रोतका अनुसार गुरुङ बुधवार करिब १२ बजे बयानका लागि लाजिम्पाटमा रहेको ब्युरोको कार्यालयमा पुगेका थिए। उनीसँग बेलुका पाँच बजेसम्मै बयान भएको थियो। उनको बयान सकिएपछि कागज गरेर खोजेको बेलामा उपस्थित हुन सर्तमा छाडिएको छ।

गुरुङको श्रीमती ज्योति गुरुङमाथि मितेरीको महाप्रबन्धक हुँदा बचतकर्ताको १२ करोड ५० लाख रुपैयाँ हिनामिना गरेको आरोप छ।  ज्योति २०५७ मा मितेरी सहकारीमा बचत सङ्कलनकर्ताका रूपमा प्रवेश गरेर २०७० मा कोषाध्यक्षसँगै महाप्रबन्धक समेत बनेकी थिइन्।

उनले सहकारीका रकम सङ्कलकहरूले सङ्कलन गरेर ल्याएको रकम सहकारीको खातामा नराखी ज्योतिबहादुर भण्डारीलाई दिएको खुलेसँगै उनी फरार भइन्। प्रहरीले अहिले ज्योतिसहित भण्डारीको नाममा समेत इन्टरपोलबाट रेड कर्नर नोटिस जारी गराएको छ।

ज्योतिको बदमासी सार्वजनिक भएसँगै उपसभापति गुरुङ पनि जोडिए। त्यो बेला मात्र यी दुवैको सम्बन्ध विच्छेद भएको खुलेको थियो। घटना सार्वजनिक भएसँगै गुरुङले सम्बन्ध विच्छेदपछि पनि सहकारीमा बैठक गरेर समस्या समाधान गर्ने वचन दिएको, सहकारीको रकम बिच बिचमा तिरेको खुलेको थियो।

रकम तिरेकोबारे उनले मिडियामा जे दाबी गरे ती विरोधभाषपूर्ण देखिए। पहिला घर बेचेर तिरेको दाबी गरेका उनको रकम भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले तिरिदिएको खुल्यो। यो खुलासासँगै मीनबहादुरले गाउँले भएकाले ऋणका रूपमा दिएको दाबी गरे पनि धनराज भने मौन रहे। उनले पछि ऋण लिएको दाबी गरे पनि उनकै फरक-फरक दाबीले सहकारीको रकम अपचलनसँगै मीनबहादुरसँग पैसा लिएको घटना समेत शङ्कास्पद देखियो।

कात्तिक २८, २०८१ बुधबार १९:१९:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।