उपराष्ट्रपति भइसकेका पासाङको माओवादीमै फर्किने चाहना, पार्टीको बैठकमै गएर जिम्मेवारी मागे
काठमाडौं : उपराष्ट्रपति भइसकेका नन्दकिशोर पुन ‘पासाङ’ सोमबार माओवादी केन्द्रको पदाधिकारी बैठकमा सहभागी भए। पार्टीको सक्रिय राजनीतिमा फर्किन लागेका पूर्वउपराष्ट्रपति पुन सोमबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसेको बैठकमा सहभागी मात्रै भएनन्, पार्टीमा आफ्नो जिम्मेवारीसमेत मागे।
बैठकमा पुनले पूर्वउपराष्ट्रपतिको रूपमा आफूले सेवा सुविधा नलिएको भन्दै जिम्मेवारी दिन आग्रह गरेका थिए। बैठकमा पुनले ‘म पार्टीको मान्छे हो कि होइन?’ भनेर नेताहरूलाई प्रश्न गरेका थिए।
उनले बैठकमा आफू पार्टीको सक्रिय राजनीतिमा फर्किन चाहेको भन्दै राजनीतिक रूपमा सही गलत के हुन्छ भनेर सुझावसमेत मागेका थिए।
'उहाँले सक्रिय भएर काम गर्ने इच्छा राख्नुभएको छ। पार्टीले कुन जिम्मेवारी दिने भन्ने निर्णय गरिसकेको छैन,' उपमहासचिव हरिबोल गजुरेलले भने।
उनी २०७२ सालमा उपराष्ट्रपतिमा निर्वाचित भएका थिए। त्यसपछि माओवादीको जिम्मेवारीबाट अलग भए।
०७९ चैतमा उपराष्ट्रपति पदबाट बिदा भएका पुन अहिले माओवादीको सक्रिय राजनीतिमा फर्कने तयारीमा छन्।
त्यसअघि उपराष्ट्रपति बनेका परमानन्द झा भने पार्टीको सक्रिय राजनीतिमा फर्किएका छैनन्। तर, दुई कार्यालय राष्ट्रपति भएकी विद्यादेवी भण्डारी एमालेको राजनीतिमा फर्किन लागेको चर्चा छ।
कात्तिक २८, २०८१ बुधबार १९:११:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।