अन्तिम खेलमा युएईलाई हराउँदै पहिलोपटक विश्वकपमा छनोट भयो नेपाल यु-१९ महिला टिम
काठमाडौं : यु-१९ महिला टी-२० विश्वकपको एसिया छनोटमा नेपालले आफ्नो अन्तिम खेलमा आज घरेलु टोली युएईलाई पराजित गरेको छ।
आजको खेलमा युएईलाई ८ विकेटले हराएको नेपाल यु-१९ महिला क्रिकेट टिम पहिलोपटक विश्वकपमा छनोट भएको छ।
युएईको सेभेन डिस्ट्रिक मैदानमा युएईले दिएको ८४ रनको लक्ष्य नेपालले १४ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो।
नेपालको सहज जितका लागि ओपनर सना प्रविनले अविजित रहँदै सर्वाधिक रन ३५ बनाइन्। उनले ४२ बलमा एक चौका प्रहार गरिन्।
त्यस्तै, कप्तान पूजा महतोले १८ बलमा २१ रनको योगदान दिइन्। साबित्री धामीले १२ रन बनाइन्।
युएईकी मेहक ठाकुरले दुई विकेट लिएकी थिइन्।
टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८३ रन बनायो।
युएईका लागि कप्तान समाइरा धर्निधरकाले सर्वाधिक ३१ रन बनाइन्। रिनिथा रन्जितले २० रन बनाइन् भने ओपनर लावन्या केनी र इन्दुजा नन्दाकुमारले समान १० रन बनाए।
यसबाहेक, अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। युएईका चार ब्याटर शून्यमा आउट भए।
नेपालका लागि कृष्मा गुरुङले ४ ओभरमा १७ रन दिएर ४ विकेट लिइन्। उनले कप्तान धर्निधरका सहित ३ खेलाडीलाई एकै ओभरमा आउट गराएकी थिइन्।
त्यस्तै, नेपालका रिया शर्मा र सीमा केसीले २/२ विकेट लिँदा रचना कुमारी चौधरीले १ विकेट लिइन्।
जितसँगै नेपालले युएईलाई नेट रनरेटमा पछि पार्यो। नेपालले ६ खेलबाट १० अंक जोड्दा युएईको पनि १० अंक नै छ।
प्रतियोगितामा नेपाल, युएई, कुवेत र थाइल्यान्डको सहभागिता थियो।
नेपालले अब आगामी वर्ष मलेसियामा हुने आइसिसी यु-१९ महिला टी-२० विश्वकप खेल्ने छ।
कात्तिक २८, २०८१ बुधबार १८:०८:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।