अन्तर्वार्तामा त्रुटि भएको स्वीकार गर्दै करेक्सन गर्ने सर्तमा सिआइबीको सोधपुछ सक्काएर निस्किए धमला
काठमाडौं : टेलिभिजन कार्यक्रममार्फत गम्भीर अपराधबारे अफबाह फैलाएको आरोपमा प्राइम टेलिभिजनका प्रमुख तथा कार्यक्रम सञ्चालक ऋषि धमलासहित तीन जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले नियन्त्रणमा लिएर सोधपुछ गर्यो।
छ वर्षअघि कञ्चनपुर महेन्द्रनगरमा १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा आफूलाई प्रत्यक्षदर्शी बताउने गोरखाका नवराज अर्याललाई प्राइम टाइम टेलिभिजनमा अन्तर्वार्ता लिएर अफबाह फैल्याएको भन्दै सिआइबीले धमलासहित अर्याललाई नियन्त्रणमा लिएर सोधपुछ गरेको हो।
प्रहरीले बुधबार अर्याल दम्पती र प्राइम टाइम टेलिभिजनका कार्यक्रम प्रस्तोता धमलालाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा त्यस अन्तर्वार्ता अर्यालकै आग्रहका कारण प्रसारण गरेको धमलाले प्रहरीलाई बताए।
सिआइबीका सूचना अधिकारी एसपी होबिन्द्र बोगटीका अनुसार सोधपुछका क्रममा अर्यालले झुटो अन्तर्वार्ता लिएको धमलाले बताएका छन्।
सिआइबीका अनुसन्धान अधिकृतहरूसँग धमलाले भनेका छन्, ‘निरन्तर कार्यालयमा आएर बोल्छु भनेपछि अन्तर्वार्ता लिएर प्रसारण गरेको हुँ। अहिले नवराज अर्यालले झुठ बोलेको देखियो।’
त्यसक्रममा धमलाले अन्तर्वार्तामा त्रुटि भएको स्वीकार गर्दै करेक्सन गर्ने प्रतिबद्धता जनाए।
‘समाचारमा करेक्सन गरेर ब्युरोलाई जानकारी गराउँछु भन्नुभएको छ,’ एसपी बोगटीले भने।
आफू खानेपानी विभागको सवारी चालक रहेको दाबी गर्ने अर्यालले आफू कञ्चनपुर पुगेको बेला निर्मलाको बलात्कार हुँदै गरेको देखेको दाबी गरेका थिए। तर, अर्यालले टेलिभिजनमा दाबी गरेका सबै विवरण झुटो भएको एसपी बोगटीले बताए।
कञ्चनपुर भीमदत्त नगरपालिका-२ की १३ वर्षीय किशोरी निर्मला पन्त २०७५ साउन ११ मा उखुबारीमा मृत भेटिएकी थिइन्। उनी १० साउनमा गृहकार्य गर्न भन्दै साथीको घर गएका बेला हराएकी थिइन्। उनको बलात्कारपछि हत्या भएको पुष्टी भए पनि घटनामा संलग्न अझै पक्राउ परेका छैनन्।
धमलाले आफ्नो कार्यक्रममा निम्त्याइएका अर्यालले निर्मलाको हत्यामा तीन जना संलग्न रहेको र आफू सो घटनाको प्रत्यक्षदर्शी रहेको भन्दै अन्तर्वार्ता दिएका थिए भने धमलाले प्रमुख प्राथमिकताका साथ प्रशारण गरेका थिए।
धमला प्रहरी हिरासतमा पुगेको यो पहिलो पटक हैन। यस अगाडि उनी अवैध हतियार र जबर्जस्ती रकम असुलीको आरोपमा पक्राउ परेर पुर्पक्षका लागि कारागारै पुगेका थिए। पछि राजनीतिक शक्तिको दुरुपयोग गर्दै सरकारले उनीसहित तीन जनाको मुद्दा फिर्ता लिने निर्णय गरेपछि उनी गम्भीर घटनामा संलग्न नै हुन् या निर्दोष अदालती परीक्षणै हुन सकेन।
रिपोर्टर्स क्लबहुँदै धमलाले अहिले प्राइम टाइम टेलिभिजन सञ्चालन गरिरहेका छन्। उनी टेलिभिजनका अध्यक्ष हुन्।
कात्तिक २८, २०८१ बुधबार १७:४४:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।