लेख्दा-लेख्दै एक वर्षसम्म बनिनसकेको ‘रैँया चाँदीको’ गीत ‘पूर्णबहादुरको सारङ्गी’मा राखेपछि सुपरहिट

लेख्दा-लेख्दै एक वर्षसम्म बनिनसकेको ‘रैँया चाँदीको’ गीत ‘पूर्णबहादुरको सारङ्गी’मा राखेपछि सुपरहिट

गण्डकी : चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’मा समावेश ‘रैँया चाँदीको’ बोलको गीतलाई पनि श्रोता-दर्शकले उत्तिकै रूचाएका छन्। यही कात्तिक ७ मा युट्युबमा सार्वजनिक त्यस गीतलाई हालसम्म ५० लाखभन्दा बढी पटक हेरिएको छ। गायक आशिष अविरल र गायिका मेलिना राईको स्वरमा रहेको गीतमा सङ्गीत पनि गायक अविरलकै रहेको छ भने शब्द नवराज पन्तले लेखेका छन्। 

ठेट शब्द, मौलिक भाका र गायकीका कारण गीत श्रोता-दर्शकको रोजाइमा परेको हो। दर्शकको अपार साथसहित दोस्रो सातामा चलिरहेको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’सँगै यस गीतले पनि चर्चा बटुलिरहेको छ। गायक तथा सङ्गीतकार आशिष अविरलका अनुसार ‘रैँया चाँदीको...’ थेगो र भाका एक वर्षअघि नै तयार भइसकेको थियो। गीतकार नवराज पन्तले थेगो दिएपछि आफूले धुन भरेको अविरलले सुनाए।

'गीत ल्याउने भन्दा-भन्दै झन्डै एक वर्ष बितिसकेको थियो, शब्दले पनि पूर्णता पाइसकेको थिएन', उनले भने, 'अहिले त्यो गीत चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’मा समावेश भयो, श्रोता-दर्शकले पनि अत्यधिक रुचाइदिनुभयो।'

चलचित्र निर्माताले ३० को दशकमा प्रचलित भाखा र शैलीको गीत मागेपछि शब्द तथा सङ्गीतमा सामान्य परिमार्जनसहित त्यो गीत उपलब्ध गराइएको अविरलले बताए। 

चलचित्रको विषय र कथानकसँग मिल्दोजुल्दो भावमा बनेकाले निर्माताले पनि एकैपटकमा उक्त गीतलाई स्वीकारेको उनको भनाइ छ। बागलुङे हुनुको नाताले गीतमा प्रयुक्त ‘रैँया चाँदीको, म त बागलुङे, मैँया मादीको...’ बोलको गीत गाउन पाउनु आफ्ना लागि विशेष रहेको अविरलले बताए। 

‘सेतो धर्ती’ उपन्यास पढ्दै गर्दा ‘रैँया चाँदीको...’ थेगो फुरेको गीतकार पन्तले बताए। 

'उपन्यासकी पात्र ताराले मादी खोलो तरेको प्रसङ्ग आउँदा एक्कासि मलाई यो गीतको शब्द फुर्यो, भोलिपल्ट घरमा गुन्गुनाउँदै थेगो तयार पारेँ', उनले भने, 'आशिष दाइले भाखा तयार गरिसकेपछि गीत सार्वजनिक गर्ने हाम्रो योजना थियो तर काम अगाडि बढ्न सकेको थिएन, अहिले अचानक चलचित्रका लागि गीत माग भएपछि गीतले पूर्णता पायो।'

गीतकार पन्तले थेगो परिवर्तन नगर्ने सर्तमा मात्र आफूले त्यो गीत चलचित्रका लागि उपलब्ध गराउन तयार भएको बताए। 

'चलचित्र निर्माताले पनि सहजै रुपमा हाम्रो आग्रहलाई स्वीकार गर्नुभयो, चलचत्रिको सार सुन्दै ३० को दशकको परिवेश झल्कने गरी रोधी बसेको शैलीमा शब्द लेखेँ, थेगो भने पुरानै कायम भयो', उनले भने। 

हाल अमेरिकामा रहेका गीतकार पन्तले लेखेका ‘सालको पातको टपरी...’, ‘डाँडै फर्के सल्लो...’, ‘मायालुको सहरमा...’लगायत गीत चर्चित छन्। 

कात्तिक २८, २०८१ बुधबार १७:११:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।