प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्रमा झन्डै डेढ अर्ब लगानीमा बनाइएको ‘दमक भ्यु-टावर’ अझै संचालनमा आएन

प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्रमा झन्डै डेढ अर्ब लगानीमा बनाइएको ‘दमक भ्यु-टावर’ अझै संचालनमा आएन

झापा : सरकारको करिब डेढ अर्ब लगानीमा झापाको दमकमा निर्माण भएको व्यावसायिक ‘दमक भ्यु-टावर’ संचालन अझै अन्योलमा छ। टावर सञ्चालनको मोडालिटी कस्तो बनाउने भन्ने विषय पेचिलो देखिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो निर्वाचन क्षेत्रमा उद्घाटन गरेको टावर यतिबेला पर्यटक भुल्याउने माध्यम मात्र बनिरहेको छ। टावर संचालनका सम्बन्धमा संघीय सरकार र स्थानीय सरकारबीच मत बाझिएको छ।

संचालनका सम्बन्धमा सहरी विकास मन्त्रालयमा छलफल चलिरहेको उपप्रधान एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहका स्वकीय सचिव युपी लामिछानेले जानकारी दिए। दमक टावर र काठमाडौंको धरहरा एउटै मोडालिटीमा संचालन गर्नेगरी छलफल भइरहेको उनले बताए ।

करिब एक अर्ब ४५ करोडमा निर्माण भएको टावर मन्त्रालयबाट मोडालिटी र कार्यविधि टुंग्याएर उद्घाटन र सञ्चालनमा ल्याउने तयारी भइरहेको मन्त्रालयले जनाएको छ। तर, दमक नगरपालिकाको नेतृत्वमा अन्य पार्टी भएका कारण भ्यु-टावरको स्वामित्व कसले लिने भन्नेबारे अन्योल रहेको स्थानीयको बुझाइ छ। 

दमकमा राप्रपाका प्रमुख र कांग्रेसका उपप्रमुख छन्।

सरकारले २०७६ सालमा एक अर्ब ३८ करोड रूपैयाँमा सक्ने गरी ठेक्का लगाएको थियो तर, लागत बढेर एक अर्ब ४५ करोड पुगिसकेको छ। दमक बजारबाट करिब तीन किलोमिटर उत्तर पश्चिमको दापगाछीमा रहेको टावर ५ बिघा क्षेत्रमा फैलिएको छ। उक्त स्थानमा पुग्न पूर्वाधारको अभाव छ। 

टावरभित्र व्यापारिक पसल, कर्पोरेट अफिस, सेमिनार हल, प्रदर्शनीकक्ष, विभिन्न स्थानीय जातिको सांस्कृतिक संग्राहलयलगायतका कार्यालयहरू राखिने जनाइएको छ। 

तर, भ्यु-टावरसम्म पुग्न पूर्वाधारको अभाव भएकाले समस्या थप बढेर गएको छ। सडक कच्ची छ। पूर्वाधार निर्माणका लागि अझै ५० करोडजति बजेट लाग्ने भएकाले संचालन अझै पर धकेलिने अनुमान गरिएको छ।

केही पूर्वाधारविद हरुले भने टावर निर्माणका विषयलाई लिएर आलोचना समेत गर्ने गरेका छन्। टावर अनुचित र अनुपयुक्त स्थानमा निर्माण गरिएकाले संचालनमा कठिनाइ हुने उनीहरुको भनाई छन्। 

कात्तिक २८, २०८१ बुधबार १६:२९:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।