‘हामी बदलिन चाहन्छौँ, अवसर दिनु’ भन्दै मतदाताकोमा जान प्रचण्डको निर्देशन

‘हामी बदलिन चाहन्छौँ, अवसर दिनु’ भन्दै मतदाताकोमा जान प्रचण्डको निर्देशन

काठमाडौँ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आत्मसमीक्षासहित उपनिर्वाचनमा लाग्न पार्टीका नेता कार्यकर्ताहरूलाई निर्देशन दिएका छन्। मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि काठमाडौँको कीर्तिपुर नगरपालिकामा उम्मेदवारी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले माओवादी बदलिन चाहेको भन्दै मतदाताकोमा अवसरका लागि आग्रह गर्न निर्देशन दिएका थिए।

‘जनताले हामीबाट जे अपेक्षा गरेका थिए, त्यसलाई जस्ताको तस्तै पूरा गर्न सकेनौँ’ प्रचण्डले कार्यकर्तालाई निर्देशन दिँदै भने ‘हामी बदलिन चाहन्छौँ, अवसर दिनुहोस् भनेर जनताको बिचमा जानुहोस्। टोल–टोल र घरघरमा पुग्नुहोस्।’

अन्य दलको तुलनामा माओवादी फरक शक्ति रहेको र सरकारमा भएको बेलामा माओवादीले हरेक पटक रूपान्तरणकारी काम गरेको भन्दै उनले पार्टीले गरेका कामसँगै पार्टीले गर्न चाहेका तर गर्न नसकेका काम पूरा गर्ने प्रतिबद्धतासहित जनताको बिचमा जान आग्रह गरेका थिए।

‘माओवादी नेतृत्वको सरकारले के गर्दै थियो र पछिल्लो समय नयाँ सरकार किन बन्यो भन्ने जनताले स्पष्टसँग बुझिसकेका छन्, त्यसैले जनता पुनः माओवादीलाई विश्वास गर्न तयार हुँदै गएका छन्’ प्रचण्डले भने ‘अब मुख्य कुरा हामी आफै पुनः जनताको सेवामा लाग्ने प्रतिबद्धतासहित रूपान्तरण हुन आवश्यक छ।’

यस पटकको उपनिर्वाचनमा कीर्तिपुर नगरपालिकामा माओवादी केन्द्रको जीतको आधार बलियो बन्दै गएको उनको दाबी छ।

उम्मेदवारी घोषणा

कार्यक्रममा माओवादी केन्द्रले कीर्तिपुरको प्रमुखका लागि प्रा.डा. शिवशरण महर्जन, वडा नम्बर १ को अध्यक्षका लागि अष्टमान महर्जन र वडा नम्बर ४ को अध्यक्षका लागि इन्जिनियर नारायण विष्टलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

उम्मेदवार घोषणा गर्दै माओवादी केन्द्रका बागमती प्रदेश अध्यक्ष सरल सहयात्रीले पार्टीको स्थानीय तहबाट सर्वसम्मतरुपमा आएको सिफारिस जिल्ला र प्रदेशले अनुमोदन गरेको जानकारी गराए। 

कात्तिक २८, २०८१ बुधबार १५:३७:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।