डेडिकेटेड र ट्रंक लाइनका विषयमा उद्योगीहरूले अर्थतन्त्र डुब्यो भनेर ब्ल्याकमेलिङ गरे : कुलमान
काठमाडौं : नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डेडिकेटेड र ट्रंक लाइनका उद्योगीहरूले बक्यौता तिर्नु भन्दापनि बक्यौतालाई विवादित र बढी राजनीतिकरण गर्ने गरेको बताएका छन्।
प्राधिकरणमा पत्रकार सम्मेलन गर्दै उनले ट्रंक लाइनका उद्योगीहरूले सामानहरू बिक्री हुँदैन, बेरोजगार बढाइयो र नेपालको अर्थतन्त्र तहसनहस गराइयो भन्ने भाष्य सिर्जना गर्ने गरेको बताए।
उनले भने, ‘डेडिकेटेड र ट्रक लाइनका उद्योगीहरूले सधैं नै बक्यौता तिर्नु भन्दापनि बक्यौतालाई झन्झन् विवादित बनाउने र बढी राजनीतिकरण गर्ने कामहरू उहाँहरूले गरिरहनु भएको छ। कुनै पनि कम्पनी फुल क्यापासिटिमा सबै चलेको हुँदैन। करिब ५०, २०, ३० प्रतिशतमा मात्र चलेको हुन्छ।’
लाइन काटिएपछि उद्योगीहरूले इमोसनल ब्ल्याकमेल गर्न खोजेको भन्दै थपे, ‘जबसम्म उहाँहरूको उत्पादित वस्तु विक्री हुँदैन तबसम्म डेडिकेटेड र ट्रक लाइनका उद्योगीहरू लाइन जोड्न अगाडि आउँदैनन्। लाइन काटिएको १०-१५ दिन भएपछि उनीहरू भाष्य सिर्जना गर्छन्। बेरोजगारी बढायो, अर्थतन्त्र डुब्यो तहसनहस नै भयो भन्ने इमोसनल ब्ल्याकमेल गर्न खोज्नुहुन्छ र बाध्य भएर सरकारले केही न केही निर्णय गर्नुपर्ने हुन्छ।’
उनले डेडिकेटेड र ट्रंकलाइन सुविधा लिएका उद्योगीहरूले पहिले दिइएको बिलअनुसार नै १५ दिनभित्र बक्यौता रकम तिर्नुपर्ने अडान लिएका छन्। प्राधिकरणले टीओडी मिटरको डाटा अनुसार नै बिल दिएकाले त्यो सही भएको उनको भनाइ छ।
सरकारले १५ दिनभित्र उद्योगीहरूको बक्यौता असुल गर्ने निर्णय गर्दै उनीहरूलाई टीओडी मिटरको बिल दिन प्राधिकरणलाई निर्देशन दिएको थियो। मन्त्रिपरिषद्को निर्णय अनुसार १५ दिनभित्र बक्यौता उठाइने घिसिङले बताए।
बक्यौता नतिरे फेरि लाइन काट्ने संकेत गर्दै उनले भने, ‘यदि १५ दिनभित्र बक्यौता नतिरे प्राधिकरणले फेरि आफ्नो प्रक्रिया सुरू गर्छ। हामीले दिएको बिललाई अदालतले पनि सही ठहर्याइसकेको छ। उद्योगीहरूले दिएका ९० वटा मुद्दा खारेज भएका छन्। कुनै पनि प्रशासनिक निकायबाट बिल ठिक छैन भन्न सक्ने अवस्था छैन।’
कात्तिक २८, २०८१ बुधबार १५:२८:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।