निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना आफूले प्रत्यक्ष देखेको बताउने पुरूषसँग सिआइबीले सोधपुछ गर्यो

निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना आफूले प्रत्यक्ष देखेको बताउने पुरूषसँग सिआइबीले सोधपुछ गर्यो

काठमाडौं : छ वर्षअघि कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटनाको प्रत्यक्षदर्शी बताउने पुरूष / टेलिभिजन सञ्चालक ऋषि धमलालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सोधपुछ गरेको छ।

प्राइम टिभीका अध्यक्ष धमला र गोरखा घर भई काठमाडौं बस्दै आएका नवराज अर्याललाई सिआइबीले मंगलबार सोधपुछ गरेको ब्युरोका एसपी होबिन्द्र बोगटीले जानकारी दिए।

अर्यालले सोमबार प्राइम टाइम टेलिभिजनका सञ्चालक ऋषि धमलासँग ‘जनता जान्न चाहन्छन् ’ भन्ने कार्यक्रममा अन्तर्वार्ता दिँदै निर्मलाका हत्यारालाई कानुनी कठघरामा ल्याउनुपर्ने र आफ्नो सुरक्षाको ग्यारेन्टी गरे बलात्कारका आरोपीबारे सूचना दिने भनेका थिए। उनले तीन जनाको समूहले निर्मलाको बलात्कार गरेको दाबी गरेका थिए।

आफूलाई निर्मला पन्तको बलात्कारपछि हत्याको प्रत्यक्षदर्शी रहेको दाबी गर्दै उनले आफैंमाथि अनुसन्धान गर्न पनि माग गरेका थिए।

त्यसपछि मंगलबार सिआइबीले उनीसँग ३/४ घण्टा सोधपुछ गरेको थियो। तर, उनले भनेअनुसार कुनै पनि घटनाको विवरण नमिलेको एसपी बोगटीले बताए। 

‘उहाँको भनाइसँग वास्तविकता मिलेको छैन। हिजो दिनभरमा ३/४ घण्टा सोधपुछ गरेर छाडेका थियौं,’ एसपी बोगटीले भने, ‘घटनाबारे बोलिएका कुराहरू काल्पनिक देखिन्छन्। तथ्यगत कुराहरू केही छैन।’

धमला प्रहरी हिरासतमा पुगेको यो पहिलो पटक हैन। यस अगाडि उनी अवैध हतियार र जवर्जस्ती रकम असुलीको आरोपमा पक्राउ परेर पुर्पक्षका लागि कारागारै पुगेका थिए। पछि राजनीतिक शक्तिको दुरुपयोग गर्दै सरकारले उनीसहित तीन जनाको मुद्दा फिर्ता लिने निर्णय गरेपछि उनी गम्भीर घटनामा संलग्न नै हुन् या निर्दोष अदालती परीक्षणै हुन सकेन।

रिपोर्टर्स क्लवहुँदै धमलाले अहिले प्राइम टेलिभिजन सञ्चालन गरिरहेका छन्। उनी टेलिभिजनका अध्यक्ष हुन्।

कात्तिक २८, २०८१ बुधबार १४:५७:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।