निर्मला पन्त प्रकरणमा दुष्प्रचारको आरोपमा ऋषि धमलासहित तीन जना सिआइबीको नियन्त्रणमा

निर्मला पन्त प्रकरणमा दुष्प्रचारको आरोपमा ऋषि धमलासहित तीन जना सिआइबीको नियन्त्रणमा

काठमाडौँ : टेलिभिजन कार्यक्रममार्फत गम्भीर अपराधबारे अफवाह फैलाएको आरोपमा प्राइम टेलिभिजनका प्रमुख तथा कार्यक्रम सञ्चालक ऋषि धमलासहित तीन जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नियन्त्रणमा लिएको छ।

कञ्चनपुर महेन्द्रनगरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको प्रत्यक्षदर्शी भन्दै प्राइम टेलिभिजनमा गोरखाका नवराज अर्यालले आफू घटनाको प्रत्यक्षदर्शी भएको दाबी गरेका थिए। ब्युरोले अर्याललाई मङ्गलवार नियन्त्रणमा लिएर सोधपुछ गर्दै हाजिर जमानीमा छाडेको थियो।

प्रहरीले बुधवार अर्याल दम्पती र प्राइम टाइम टेलिभिजनका कार्यक्रम प्रस्तोता धमलालाई  नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको सिआइबीका सूचना अधिकारी प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए।

उनले अर्यालले टेलिभिजनमा दाबी गरेका सबै विवरण झुटो भएको र सो विषयमा थप अनुसन्धानका लागि अर्याल दम्पती र प्रस्तोता धमलालाई सिआइबीमा ल्याइएको बताए।

आफू खानेपानी विभागको सवारी चालक रहेको दाबी गर्ने अर्यालले आफू कञ्चनपुर पुगेको बेला निर्मलाको बलात्कार हुँदै गरेको देखेको दाबी गरेका थिए।

कञ्चनपुर भीमदत्त नगरपालिका–२ की १३ वर्षीय किशोरी निर्मला पन्त २०७५ साउन ११ मा उखुबारीमा मृत भेटिएकी थिइन्। उनी १० साउनमा गृहकार्य गर्न भन्दै साथीको घर गएका बेला हराएकी थिइन्। उनको बलात्कारपछि हत्या भएको पुष्टी भए पनि घटनामा संलग्न अझै पक्राउ परेका छैनन्।

धमलाले आफ्नो कार्यक्रममा निम्त्याइएका अर्यालले निर्मलाको हत्यामा तीन जना संलग्न रहेको र आफू सो घटनाको प्रत्यक्षदर्शी रहेको भन्दै अन्तर्वार्ता दिएका थिए भने धमलाले प्रमुख प्राथमिकताका साथ प्रशारण गरेका थिए।

धमला प्रहरी हिरासतमा पुगेको यो पहिलो पटक हैन। यस अगाडि उनी अवैध हतियार र जवर्जस्ती रकम असुलीको आरोपमा पक्राउ परेर पुर्पक्षका लागि कारागारै पुगेका थिए। पछि राजनीतिक शक्तिको दुरुपयोग गर्दै सरकारले उनीसहित तीन जनाको मुद्दा फिर्ता लिने निर्णय गरेपछि उनी गम्भीर घटनामा संलग्न नै हुन् या निर्दोष अदालती परीक्षणै हुन सकेन।

रिपोर्टर्स क्लवहुँदै धमलाले अहिले प्राइम टेलिभिजन सञ्चालन गरिरहेका छन्। उनी टेलिभिजनका अध्यक्ष हुन्।

कात्तिक २८, २०८१ बुधबार १४:५२:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।