कुलमानको प्रश्न ‘संस्थाको रकम उठाउन खोज्दा नाजायज रकम उठाउन खोजेको कसरी हुन्छ?’

कुलमानको प्रश्न ‘संस्थाको रकम उठाउन खोज्दा नाजायज रकम उठाउन खोजेको कसरी हुन्छ?’

काठमाडौँ : नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले प्राधिकरणले अनावश्यक रूपमा ट्रान्सफरमर किनेर राखेको भन्ने आरोपको खण्डन गर्दै जिम्मेवार व्यक्तिहरूबाटै गलत प्रचार भएको बताएका छन्।

उनले बुधवार पत्रकार सम्मेलन गरेर मर्मतका लागि राखिएका बिग्रिएका ट्रान्सफरमरको तस्बिर राखेर अफवाह फैलाउने काम गरेको भन्दै आपत्ति जनाए। उनले सार्वजनिक भएका तस्बिरहरू प्राधिकरणको मर्मत केन्द्रहरूमा मर्मतका लागि राखिएको बताए।

प्राधिकरणले अनावश्यक रूपमा ट्रान्सफरमर किनेर २० अर्बको ट्रान्सफरमर स्टक राखेको छ भन्ने सुनेपछि बुझ्दा जम्मा २७ करोडको ट्रान्सफरमर स्टक रहेको खुल्यो,’ उनले भने ‘तर २० अर्बको भनेर जिम्मेवार व्यक्तिहरूले हल्ला गरे।’

उनले डेडिकेटेड र ट्रङ्क लाइनको बक्यौता रकम उठाउन खोज्दा लोकप्रियताका लागि जे पनि काम गर्छ भनेर गलत आरोप लगाएको भन्दै उनले संस्थाको रकम उठाउन खोज्दा नाजायज रकम उठाउन खोजेको कसरी हुन्छ भन्दै प्रश्न गरेका थिए।

‘लोकप्रियताका लागि कुलमानले जे पनि गर्छ भन्नु गलत हो। नेपालको कानुनभित्र रहेर संस्था र देशको हितका लागि काम गरेको छु’ उनले भने।

कात्तिक २८, २०८१ बुधबार १४:४३:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।