१६ लाख किशोरीलाई पाठेघरको क्यान्सरविरूद्धको खोप निःशुल्क लगाइने स्वास्थ्यमन्त्री पौडेलको निर्णय
काठमाडौं : स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पाठेघरको मुखको क्यान्सरबाट जोगाउन देशैभरका किशोरीहरूलाई निःशुल्क खोप लगाउने निर्णय गरेका छन्।
मंगलबार मन्त्रीस्तरीय निर्णय भएपछि यही माघ २३ मा क्यान्सर दिवसको अवसर पारेर देशव्यापी खोप अभियान थाल्ने मन्त्रालयको तयारी छ। १५ दिन सञ्चालन हुने अभियानअन्तर्गत देशैभरका किशोरीहरूलाई खोप दिइनेछ।
यस निर्णयबाट देशभरका ७ देखि १४ वर्षसम्मका १६ लाख ८८ हजार नौ सय किशोरी लाभान्वित हुने मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए।
हाल नेपालमा हरेक दिन ४ जना महिलाको पाठेघरको मुखको क्यान्सरबाट ज्यान गइरहेको मन्त्रालयको तथ्यांकले देखाएको छ। किशोरीहरूलाई सानै उमेरबाट नै क्यान्सरबाट जोगाउन यस्तो निर्णय गरिएको मन्त्री पौडेलले जानकारी दिए।
मन्त्री पौडेलले आगामी वर्षबाट नियमित खोप अभियानमा समेत पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप समावेश गराउने निर्णय गरेका छन्। त्यसअनुसार यसै वर्ष नियमित खोपमा समावेश हुन चाहने कक्षा ६ अध्ययनरत वा १० वर्षका बालिकालेसमेत यो खोप लगाउन पाउनेछन्।
आगामी वर्षबाट भने सबै किशोरीले नियमित रुपमा खोप लगाउन पाउने गरी व्यवस्था गरिएको प्रवक्ता डाक्टर बुढाथोकीले जानकारी दिए।
मन्त्री पौडेलले विश्व स्वास्थ्य शिखर सम्मेलनका क्रममा जर्मनीमासमेत विश्व स्वास्थ्य संगठनका महानिर्देशकलगायत अधिकारीहरूसँग नेपालले सञ्चालन गर्न लागेको खोप अभियानबारे जानकारी गराउँदै आवश्यक सहयोगका लागि आग्रह गरेका थिए। भ्याक्सिनसम्बन्धी विश्व सञ्जाल गाभीलेसमेत मन्त्रालयलाई साथ दिने निर्णय गरिसकेको छ।
कात्तिक २८, २०८१ बुधबार १४:३१:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।